अभिभावकहरुलाई असल शिक्षकको सुझाव

धेरै अंक ल्याए भनेर ताली मात्र नबजाऔँ र थोरै अंक ल्याए भनेर आलोचना पनि नगरौं । किनभने यो परिणाम जीवनको एउटा खुड्किलो मात्र हो, अन्तिम निष्कर्ष होइन ।

२०८१ सालको एस.ई.ई.को परिणाम सार्वजनिक हुने क्षण नजिकिँदैछ। यस घडीमा हामीमध्ये धेरैको ध्यान अंक, श्रेणी र तुलनातर्फ मोडिन्छ। तर, यही मौकामा एक छिन आफैंलाई प्रश्न गरौं—के अंकले नै जीवनको सम्पूर्ण मूल्य मापन हुन्छ त?

संसारमा धेरै यस्ता अनुहारहरू छन्, जो कहिल्यै बोर्ड टपर भएनन्, तर जीवनको बाटोमा असल मान्छे बने। त्यसैगरी, केही अनुहारहरू यस्ता पनि छन्, जसले राम्रो नम्बर त पाए, तर जीवनको दौडमा क्रमशः आफैंसँग हारिरहे । सन्तानले प्राप्त गरेको अंक भन्दा उनीहरूमा रहेको संवेदना, संघर्षको साहस र आत्मनिर्भरता नै साँचो सफलता हो ।

धेरै अंक ल्याए भनेर ताली मात्र नबजाऔँ र थोरै अंक ल्याए भनेर आलोचना पनि नगरौं । किनभने यो परिणाम जीवनको एउटा खुड्किलो मात्र हो, अन्तिम निष्कर्ष होइन । सकेसम्म सामाजिक सञ्जालमा ग्रेड होइन, बधाई र शुभकामनाको सुवास छरौं। सन्तानलाई किताबको अक्षर मात्र होइन, जीवनको अर्थ बुझ्ने र जीवन जिउने कला सिकाउँ । उनीहरूलाई केवल राम्रो छोराछोरी र विद्यार्थी मात्र होइन, असल नागरिक बनाउने सपना देखौं ।

 

हामीले उनीहरूमा बीउ छरिदिऔँ– इमान, मिहिनेत र सहानुभूतिका। जब ती बीउहरू हुर्कन्छन्, तब मात्र हाम्रो जीवन साँच्चिकै सन्तोषले भरिनेछ । नतिजा भन्दा परको संसार देख्न सिकौं ।

जीवनमा सफल हुनु नै अन्ततः पढाइको सबैभन्दा ठूलो प्रमाण हो । यो कुरा सबैले बुझौँ र बुझाउँ ।
लेखक बुटवलको दिप वोर्डिङ स्कुलका प्राचार्य