लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना


बुटवल, असार १५ गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहँदा आज दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहने छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागका केही स्थान तथा बाँकी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थान तथा अन्य प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।
देशका उच्चपहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । वर्षातबाट हुने जोखिमबारे समयमै सचेत हुन आग्रह गरिएको छ ।
























