रुपन्देही-३ः मधेश केन्द्रित दलले नाउपालाई सघाउने

काठमाडौं । संघीय लोकतान्त्रिक मोर्चामा आवद्ध मधेश केन्द्रित दलले रुपन्देही–३ को उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) को उम्मेदवारलाई सघाउने संकेत गरेका छन् ।

रुपन्देही–३ को उपनिर्वाचनलाई छलफलको पहिलो एजेन्डा बनाएर संघीय लोकतान्त्रिक मोर्चाको दुई दिन बैठक बसिसकेको छ । बिहीबार र आइतबार नाउपाको पहलमा मोर्चाको बैठक बसेको थियो ।

बैठकमा सहभागी मोर्चाका एक नेताका अनुसार रुपन्देही–३ मा संघीय लोकतान्त्रिक मोर्चाबाट साझा उम्मेदवार नाउपाबाट हुने संकेत गरे । यद्यपि, औपचारिक निर्णयमा ती दलहरु पुगिसकेका छैनन् । जनमत आफ्नै बैठकमा व्यस्त रहेकाले आइतबार निर्णयमा पुग्न सकेनौं, बैठकमा सहभागी एक नेताले भने, अहिलेसम्मको अवस्था हेर्दा रेशमजीको पार्टीको उम्मेदवारलाई अरु दलले सघाउने देखिन्छ ।

राप्रपाबाट निर्वाचित दीपक बोहोराको निधन भएको हुँदा निर्वाचन आयोगले कात्तिकमा उपनिर्वाचन गर्ने तयारी गरेको छ । गत निर्वाचनमा नाउपाका उम्मेदवारले त्यस क्षेत्रमा चौथो स्थानको मत ल्याएका थिए । राप्रपाका उम्मेदवार पहिलो, कांग्रेस दोस्रो र रास्वपाले तेस्रो स्थानको मत पाएका थिए ।

मधेश केन्द्रित सात दलमा नाउपाको सबैभन्दा बढी मत हुनु र त्यसपछि जनमतका उम्मेदवारले मत पाउनुले पनि साझा उम्मेदार नाउपाबाट हुने सम्भावना बढी रहेको ती दलका नेताहरुले जानकारी गराएका छन् ।

चितवनभन्दा पश्चिम थरुहटको प्रभाव पनि रहेको हुँदा थरुहट र मधेश जोड्ने माध्यम पनि उपनिर्वाचनलाई सोचेर नाउपाको उम्मेदवारलाई सघाउन खोजेको संघीय लोकतान्त्रिक मोर्चाका नेताहरुको भनाई छ ।