‘कुलिङ पिरियड’मा चलखेलः सभामुखद्वारा प्रतिवेदनमा त्रुटि भएको स्वीकार


काठमाडौँ। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले ‘कुलिङ पिरियड’ सम्बन्धी विधेयकमा देखिएको विवादबारे टिप्पणी गर्दै समितिले पठाएको प्रतिवेदन नै बैठकले पास गरेको बताएका छन्। उनले राज्य व्यवस्था तथा सुशासन समितिले प्रतिवेदन तयार गर्दा त्रुटि भएको हुन सक्ने अनुमान व्यक्त गरे।

सभामुख घिमिरेले समितिको प्रतिवेदन बनाउँदा सबै सांसदहरूको ध्यान नपुगेको आफ्नो बुझाइ रहेको बताए। उनले समितिले पठाएको प्रतिवेदन नै बैठकले पास गरेको हुँदा व्यक्ति विशेषलाई लक्षित गरेर आरोप लगाउनु राम्रो नहुने प्रतिक्रिया दिए। संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’ राखेर विधेयक अगाडि बढाउने सहमति भए पनि प्रतिनिधि सभामा प्रतिवेदनसहित पास भएर राष्ट्रिय सभामा गएको विधेयकमा ‘कुलिङ अफ पिरियड’ नै हटाइएको पाएपछि समितिका सभापति र महासचिव पदमप्रसाद पाण्डेमाथि शंका गर्न थालिएको छ।
सभामुख घिमिरेले समितिको बैठकमा कस्ता बहस छलफल भए, के निष्कर्ष वा सहमति जुटेको थियो, त्यसलाई कसरी अभिलेखीकरण गरियो भन्नेबारे आफूले हेर्ने बताए। उनले विषयलाई गम्भीरताका साथ प्रक्रियागत रूपमा के कसरी काम भएको थियो भनेर हेर्नका लागि सचिवालयलाई निर्देशन दिएको जानकारी पनि दिए।

सभामुख घिमिरेले विधेयक राष्ट्रिय सभामा पुगेको र राष्ट्रिय सभाले यो विधेयकलाई सच्याउने अपेक्षा रहेको बताए। बहसमा सभामुखले सच्याउन सक्ने भन्ने कोणबाट कुराहरु आए पनि आफूलाई अनुसांगिक मिलाउने बाहेक विधेयकभित्र चलाउने अधिकार नभएको उनले स्पष्ट पारे। राष्ट्रिय सभाले विधेयकमा आवश्यक संशोधनपछि पुनः प्रतिनिधि सभामा फर्केपछि थप मिलाउने कुरा प्रतिनिधि सभाको बैठकले गर्ने विश्वास उनले व्यक्त गरे।
सभामुखले संसदमा दर्ता भएर संसदको बैठकले समितिमा छलफलका लागि पठाउने सबै विधेयकको छलफल, निष्कर्ष र जवाफदेहिता समिति र समिति सदस्यको हुने भएकाले त्यसको स्तरीयतामा पनि प्रश्न उठेको बताए। समितिमा कस्ता छलफल हुन्छन् र त्यसको स्तर कस्तो छ भनेर हेर्न यो ‘कुलिङ अफ पिरियड’ सम्बन्धी सांसदहरूको प्रतिक्रियाले देखाएको उनको भनाइ छ। प्रतिनिधि सभाको बैठकमा असार १ गते कार्यसूचीमा रहेको विधेयक धेरै पछि पास भएर राष्ट्रिय सभामा पुगेपछि मात्र सांसदहरूले थाहा पाउने कुराले हाम्रो छलफल र सांसदको प्राथमिकता कस्तो रहेको छ भन्ने स्पष्ट भएको पनि उनले उल्लेख गरे।






















