प्राकृतिक विपद्‌मा गम्भीर हुन कांग्रेस महामन्त्री शर्माको

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्राकृतिक विपद्‌को प्रतिकार्यका लागि सरकार गम्भीर हुनुपर्ने बताएका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले बर्खाको समयमा हुने बाढी–पहिरोजस्ता घटना भइसकेपछि मात्र बैठक बस्ने परिपाटीको अन्त्य गर्नुपर्नेमा जोड दिए।

महामन्त्री शर्माले विपद्‌को सामना गर्न सरकार जोखिमयुक्त ठाउँहरूमा आवश्यक पूर्वतयारीमा लाग्नुपर्ने बताए। उनले सोमबार राति चीनतर्फबाट आएको बाढीका कारण प्रभावित भएकाहरूको उद्धार र राहतमा समेत गम्भीर भएर लाग्न सरकारको ध्यानाकर्षण गराए।

प्राकृतिक विपद् हाम्रो देशले निरन्तर व्यहोर्दै आएकै छ, उनले भने, बर्खाको बेलामा त व्यहोर्थ्यो नै जलवायु परिवर्तनको कारण गत वर्ष हामीले बेमौसममा पनि यस्तो खालको विपत्ति व्यहोर्‍यौं। घटना हुने र हुँदैछ भनेर पूर्वानुमान भइरहेकै छ। त्यसकारणले घटना भइसकेपछि गम्भीरतापूर्वक बैठक बस्ने होइन। सम्पूर्ण तयारीका साथ सरकारले युद्धस्तरमै आउँदो विपद्‌लाई सामना गर्ने तयारी गरोस्।

उनले चीनबाट आएको बाढी जलवायु परिवर्तनकै कारण हो वा अरू केही हो भन्नेबारे विज्ञहरूबाट विचार आउन बाँकी रहेको बताए। चीनतर्फ ठूलो पानी परेको वा ड्याम फुटेर बाढी आएको हुनसक्ने अनुमान गरिए पनि अझै स्पष्ट भइसकेको छैन।