देश जटिल मोडमाः प्रचण्ड

ललितपुर। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले देश अहिले अत्यन्तै जटिल मोडमा रहेको बताएका छन्। बिहीबार ललितपुरमा ’श्रम उत्पादनमा वाइसिएल अभियान’को शुभारम्भ गर्दै उनले यस्तो भनाइ राखेका हुन्।

अध्यक्ष दाहालले देश अहिले संविधान, गणतन्त्र, सुशासन, सामाजिक न्याय र समृद्धिको दृष्टिकोणले निकै चुनौतीपूर्ण अवस्थामा रहेको उल्लेख गरे। उनले वर्तमान सरकार जहाँ टेक्छ, त्यहीँ भ्रष्टाचार हुने गरेको आरोप लगाए। प्रचण्डले सरकार सुशासनको विरुद्धमा खडा भएको र सम्पूर्ण रूपमा देशलाई असफल बनाउने दिशातर्फ अग्रसर भएको दाबी गरे।

उनले भने, देश अहिले संविधानको दृष्टिकोणले, गणतन्त्रको दृष्टिकोणले, सुशासन, सामाजिक न्याय र समृद्धिको दृष्टिकोणले निकै नै जटिल मोडमा छ। अहिलेको सरकार जहाँ टेक्छ, त्यहीँ भ्रष्टाचारबाहेक केही पनि छैन। सुशासनका विरुद्ध खडा भएको यो सरकार सम्पूर्ण रूपमा देशलाई असफल बनाउने दिशातर्फ अग्रसर भएको छ।

दाहालले जनतासँग राम्रो सम्बन्ध बढाएर श्रम र उत्पादन कार्यमा आफ्नो उत्पादनलाई जोडेर सुशासनको पक्षमा, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा लाग्न आह्वान गरे। उनले युवालाई संगठित गरेर मात्रै परिवर्तन उल्ट्याउनेहरूविरुद्ध सफलता हासिल गर्न सकिने बताए।

अध्यक्ष दाहालले आफूहरूले खबरदारी गर्दागर्दै पनि सरकार यसरी नै भ्रष्टाचारमा लिप्त हुने र जनभावना विपरीत गए सरकारको प्रतिवाद सडकबाट गर्ने चेतावनी पनि दिएका छन्।