हत्याको पन्ध्र बर्षः प्रहरीले अझै सकिन सञ्चार उद्यमी धितालका हत्यारालाई फेला पार्न

बुझाइयो ज्ञापन पत्र

दाङ । दाङका सञ्चार उद्यमी देवीप्रसाद धिताल ‘हेमराज’का हत्यारालाई कारबाही गर्न माग गर्दै गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराइएको छ।

हेमराजका भाइ पुष्कर धितालको तर्फबाट रेडियो तुलसीपुरका स्टेशन प्रमुख अर्जुन गिरी र प्रेस चौतारीका केन्द्रीय सदस्य गणेश आचार्यले आज गृहमन्त्री लेखकलाई ध्याकर्षण पत्र बुझाए।

रेडियो तुलसीपुरका अध्यक्ष रहेका हेमराजको २०६७ साल साउन ६ गते तुलसीपुर–१२ जसपुरमा अज्ञात समूहले गोली हानी हत्या गरेको थियो।

ध्याकर्षण पत्र बुझ्दै गृहमन्त्री लेखकले अपराधीलाई कारबाही गर्नु राज्यको कर्तव्य भएको भन्दै सञ्चार उद्यमी हेमराजका हत्याराको पहिचान गरी कारबाही गर्न प्रहरीलाई निर्देशन दिने प्रतिबद्धता जनाए।

‘१५ वर्षसम्म पनि सञ्चार उद्यमीका हत्यारा पत्ता नलाग्नु दुस्खद् हो, गृहमन्त्री लेखकले भने, ‘ढुक्क हुनुस्, यस घटनालाई तत्काल गम्भीर अनुसन्धान गरी कारबाही गर्न आइजीपीलाई निर्देशन दिन्छु।

यो घटना अहिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले गरिरहेको छ। सिआइबीले अनुसन्धान थाले पनि अनुसन्धानमा उपलब्धि भने शून्य रहेको हेमराजका भाइ पुष्करको गुनासो छ।