त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ इन्धन डिपो बन्ने

काठमाडौँ । नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ हवाई इन्धन डिपो निर्माण गर्ने भएको छ। हाल सिनामङ्गलमा रहेको डिपो अन्तर्राष्ट्रिय मापदण्ड बाहिर रहेकाले र भण्डारण क्षमता बढाउन नमिल्ने भएकाले निगमले विमानस्थलको उत्तरपूर्वी क्षेत्र गुह्वेश्वरीमा नयाँ डिपो बनाउन लागेको हो। यसका लागि सरकारले गत वर्ष नै निर्णय गरेको थियो।

त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थानको कन्सल्टेन्सी सेवाले आज नेपाल आयल निगमलाई डिपो स्थानान्तरणसम्बन्धी विस्तृत परियोजना प्रतिवेदन हस्तान्तरण गरेको छ।

उक्त प्रतिवेदनअनुसार, नयाँ डिपोको कुल लागत ६ अर्ब ५४ करोड २९ लाख रुपैयाँ अनुमान गरिएको छ। नयाँ डिपोमा पेट्रोलियमसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डको पूर्ण पालना गरिने र यो अमेरिकी पेट्रोलियम इन्स्टिच्युटले तोकेको सुरक्षा मापदण्डअनुसारको हुने निगमले जनाएको छ।

सिनामङ्गलस्थित डिपोका प्रमुख प्रदीपकुमार यादवका अनुसार, आगामी ५० वर्षका लागि हवाई इन्धनको माग धान्न सक्ने गरी नयाँ डिपो निर्माण गरिनेछ। यो डिपो पूर्णरुपमा स्वचालित र अत्याधुनिक हुनेछ।

भण्डारण क्षमताः ३,००० किलोलिटर क्षमताका पाँचवटा भर्टिकल ट्याङ्कहरु निर्माण गरिनेछन्। अग्नि सुरक्षाः २,१०० किलोलिटरका दुईवटा पानी ट्याङ्क र पूर्ण स्वचालित अग्नि नियन्त्रक प्रणाली जडान गरिनेछ।

निगमले नेपाल नागरिक उड्डयन प्राधिकरणले जग्गा व्यवस्थापनको काम छिटो सकेमा आगामी भदौमा बोलपत्र आह्वान गरी मंसिरदेखि निर्माण सुरु गर्ने योजना बनाएको छ। आयोजना दुई वर्षभित्र सम्पन्न गर्ने र २०८४ मंसिरदेखि नयाँ डिपोबाट इन्धन भर्ने लक्ष्य राखिएको छ।