प्रधानमन्त्रीमाथि गम्भीर आरोपः प्रधानमन्त्री ओलीबाटै खतरा छ-गुरुङ


काठमाडौँ । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले वर्तमान शासकीय प्रणालीमाथि प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाटै खतरा रहेको आरोप लगाएका छन् ।

प्रधानमन्त्री ओलीले व्यवस्थामाथि हरेक दिन आक्रमण गर्दै आएको आरोप नेता गुरुङले लगाए । पार्टी फुटाउने, राज्यका अंगहरु छिन्नभिन्न बनाउने काममा ओली लागेको पनि उनको जिकिर छ ।
उनले अहिलेको प्रश्न ०८४ मा निर्वाचन हुन्छ कि हुँदैन भन्ने भन्दा पनि अहिलेको व्यवस्था बँच्छ की बँच्दैन भन्ने चिन्ताको विषय रहेको बताए । न्युज एजेन्सी नेपालसँग काठमाडौँमा कुराकानी गर्दै महासचिव देव गुरुङले यो सदन ०८४ सम्मै चालु हुनसक्नेमा पनि शंका व्यक्त गरे ।

प्रधानमन्त्री ओली एवं नेकपा एमाले अध्यक्ष शान्ति सम्झौताको विपक्षमा रहेका व्यक्ति भएकोले उनको सोच वर्तमान व्यवस्था जोगाउनेतिर नरहेको आरोप लगाए । लोकतन्त्र, संविधान, राष्ट्रियतालाई रक्षा गर्नुपर्छ भन्ने मोडलमा सबै राजनैतिक दल आगाडि गए मात्र अहिलेको व्यवस्था बच्ने बताए ।
अहिलेको लडाइँ व्यवस्था जोगाउनका लागि हुनुपर्ने उनको भनाइ छ । प्रधानमन्त्री ओलीले कुनै पनि बेला शक्तिकेन्द्रको उक्सावटमा आएर व्यवस्थामाथि प्रहार गर्न सक्ने आरोप लगाए । कम्युनिष्टका प्रमुख घटकका अध्यक्षमाथि यति गम्भीर आरोप लगाएका गुरुङले ०८४ सम्म वृहत्तर कम्युनिष्ट एकीकरण हुने पनि बताए । कम्युनिष्टहरू नै मुलुकमा पहिलो ठूलो पार्टी बन्ने दाबी गरे ।
उनले व्यवस्थापिक संसद समय समयमा बलीको बोको भइरहेको बताए । प्रणालीमाथि अहिले पनि ठूलो जोखिम रहेको उनले बताए । पछिल्लो समय राजावादीहरू सल्बलाइरहेको बेलामा गुरुङले प्रधानमन्त्री ओलीमाथि यो गम्भीर आरोप लगाएका हुन् ।






















