बाग्लुङमा राजमोको आयोजनामा भ्रष्टाचारबिरुद्व सभा


बुटवल, साउन २७ गते । राष्ट्रिय जनमोर्चाले बाग्लुङमा भ्रष्टाचार बिरुद्वको अभियान चलाएको छ । पार्टीको केन्द्रिय कार्यक्रम अनुसार राष्ट्रिय जनमोर्चा बाग्लुङले यही साउन ३० गतेसम्म भ्रष्टाचार बिरुद्वको अभियान चलाएको हो । उक्त कार्यक्रम अन्तरगत मंगलबार बाग्लुङको बागलुङ बजार, कुश्मिसेरा, अक्षेते बजार, हटियाबजार, बुर्तिबाङ, बरेङ, झिवाखोला ल गायतका स्थानहरुमा भ्रष्टाचार बिरुद्व सभा गरिएको छ ।

बागलुङ बजारको ट्राफिकचोकमा आयोजित सभामा बोल्दै राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष तिलक थापाले राज्य चलाउनेहरु नै संगठित रुपमा भ्रष्टाचार गरेको बताउंदै भ्रष्टाचार मौलाएको बताए । उनले भ्रष्टाचार लुकाउन र अपराधीहरुलाई जोगाउन आफुलाई ठूला दल भन्ने कांगे्रस, एमाले, माओवादी एक ठाउं रहेको दावी गरे ।
युवा नेता तिलक थापाले सरकारले नै भ्रष्टचारीलाई संरक्षण गरेकाले भ्रष्टाचार घट्नको साटो बढेको बताउंदै यो सरकार जनबिरोधी सरकार हो, यसबाट जनताले कुनै आशा गर्न नहुने बताउंदै भ्रष्टाचार, लुटतन्त्र र संघीयताको बिरुद्व एकतावद्व हुन आमनेपाली जनतालाई अपिल गरे ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङ नगर अध्यक्ष थानेश्वर सुवेदी र टेकबहादुर आरसीले भ्रष्टाचार मौलाउनमा सरकारको ठूलो हात रहेको बताए ।

जैमिनी नगरपालिकाको कुश्मिसेरा बजारमा आयोजित सभामा राष्ट्रिय जनमोर्चा जिल्ला सचिव भिमलाल पोखरेल, जैमिनी नगर अध्यक्ष दिलबहादुर श्रीसले देशको समसामायिक विषयमा बोलेका थिए । उक्त कार्यक्रमको सञ्चालन ठाकुर शर्माको गरेका थिए ।
यस्तै काठेखोला गाउँपालिकाको अक्षेते बजारमा भएको सभामा राजमो जिल्ला सचिवालय सदस्य थानेश्वर सुवेदी, तुलबिर श्रीसले बोलेका थिए । गलकोट नगरपालिकाको हटियाबजारमा भएको कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङका सल्लाहकार भिमसेन वन, नगर अध्यक्ष टंकबहादुर केसी, अखिल छैठौंका केन्द्रीय सदस्य कर्ण नेपाली र सञ्चालन जिल्ला सदस्य पदम श्रेष्ठले आआफ्ना भनाइ राखेका थिए ।
यस्तै ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजारमा भएको सभामा राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य गौरीश्वर पाण्डे, जिल्ला बोषाध्यक्ष दिपक थापा, अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुकका केन्द्रीय सदस्य केयरसिङ अदै र सञ्चालन कुलबहादुर छन्त्यालले बोलेका थिए ।
निसीखोला गाउँपालिकाको झिवाखोला बजारको सभामा अखिल नेपाल जनजाती सम्मेलन बागलुङका सल्लाहकार प्रगति बुढा, राष्ट्रिय जनमोर्चा बागलुङका सदस्य थमन घर्ती र लाल बहादुर सिंजालीले बोलेका थिए ।
बरेङ बजारमा भएको भ्रष्टाचार बिरुद्वका सभामा राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य हिरा थापाले भ्रष्टाचार तथा अनियमितता र संघीयता बिरुद्वको आन्दोलनलाई निरन्तरा दिनु पर्ने बताउंदै संघीयताले झनै भ्रष्टाचार बढाएको बताए । उनले प्रदेश खारेज नभएसम्म देशले अग्रगति ल्याउन नसक्ने बताउंदै संघीयता असफल भैसकेको बताए ।






















