सामुदायिक विद्यालयको नतिजा सुधार्नु पर्छ –  मुख्यमन्त्री

पाल्पा, भदौ १६ गते ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामुदायिक विद्यालयको शैक्षिक नतिजा सुधार्नु अहिलेको मुख्य आवश्यकता रहेको बताएका छन् । सबै सामुदायिक विद्यालयहरुलाई सुधार गरेर सबै वालवालिकालाई शिक्षको पहुंचमा पुराउनु पर्नेमा मुख्यमन्त्रीले जोड दिए ।

पाल्पाको मोहन कन्या माध्यमिक विद्यालयको ७५ औं वार्षिकोत्सव एवम् हीरक महोत्सव २०८२ को उद्घाटन गर्दै उहाँले विद्यार्थी केन्द्रित शिक्षण सिकाइ प्रक्रियाको प्रभावकारी कार्यान्वयनले मात्रै मात्र सामुदायिक विद्यालयप्रति जनआस्था बलियो हुने बताए ।

‘सामुदायिक विद्यालयले आफ्नो नतिजा सुधार्न सके भने निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न सक्छन्,’ मुख्यमन्त्री आचार्यले भने – शिक्षकहरूले आत्मसमिक्षा गर्दै जिम्मेवारीपूर्वक अध्यापन गराउनुपर्छ । सरकारले कुनै कमी हुन दिंदैन ।

मुख्यमन्त्री  शिक्षाको गुणस्तर अभिवृद्धिलाई प्रदेश सरकारको उच्च प्राथमिकतामा राखिएको भन्दै शिक्षकको सीप तथा दक्षता वृद्धि, सूचना प्रविधिको प्रयोग, विद्यालयको चौतर्फी विकास र अभिभावकको सक्रिय भूमिका सुनिश्चित गर्ने कार्यक्रमहरू अघि बढाइरहेको जानकारी गराए ।

कार्यक्रममा ‘आरती हीरक स्मारिका’ विमोचन र स्मारक अनावरण गरिएको थियो । विद्यालयले हीरक महोत्सवको अवसरमा गुणस्तरीय तथा प्राविधिक नारी शिक्षा सम्बन्धी राष्ट्रिय गोष्ठी, प्राज्ञिक छलफल र खेलकंूद कार्यक्रम आयोजना गरेको थियो ।

हीरक महोत्सवको उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, प्रदेश सभा सदस्य, प्रमुख सचिव, राजनीतक दलका अध्यक्ष तथा प्रतिनिधि जनप्रतिनिधि, शिक्षक, विद्यार्थी र अभिभावकको सहभागिता रहेको थियो ।