रुपन्देहीमा १७० जना कुष्ठरोगका विरामी भेटिए, सचेत रहन आग्रह


बुटवल, भदौ १७ गते । रुपन्देहीमा १७० जना कुष्ठरोगका विरामी फेला परेका छन् । रुपन्देहीमा अहिले १७० जना कुष्ठरोगीको संख्या रहेको स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्थ्यांकले देखाएको हो ।

स्वास्थ्य कार्यालय रुपन्देहीले मंगलबार कुष्ठरोगको विषयमा आयोजना गरेको अन्तरक्रियामा स्वास्थ्य अधिकृतहरुले विरामीहरुलाई खोज्दै समूदायमा पुग्दा पनि निवारण गर्न नसिएको बताएका छन् । स्वास्थ्य कार्यालयको आयोजना र ल्याप्रोसी नेपालको सहयोगमा रुपन्देहीको तिलोत्तममा मंगलबार कुष्ठरोग सम्बन्धी सरोकारवालासंग अन्तरक्रिया एंव अभिमुखिकरण कार्यक्रम गरिएको हो ।
नेपाललाई २०६६ सालमा कुष्ठरोग निवारण देश घोषणा गरिएको १६ वर्षसम्म पनि अझै निवारण हुन सकेको छैन । जनचेतनाको कमी र रोग लुकाउने मानिसको प्रवृत्तिमा परिवर्तन आउन नसकेकाले नेपालबाट कुष्ठरोग निवारण हुन नसकेको रुपन्देहीका स्वास्थ्य अधिकृतहरुले बताएका छन् । २०८०। ०८१ को अन्त्यतिर नेपालका १८ वटा जिल्ला कुष्ठरोग निवारण हुन बांकी रहेको स्वास्थ्य कार्यालय रुपन्देहीका क्षयकुष्ठ अधिकृत टिकारम अधिकारीले बताए ।

रुपन्देही पनि कुष्ठरोगबाट मुक्त हुन सकेको छैन । सरकारले कुष्ठरोगीहरुलाई निःशुल्क औषधीको व्यवस्था गरेपनि रुपन्देही जस्तो जिल्ला कुष्ठरोग मुक्त हुन नसक्नु दुख्खदायी विषय बनेको भन्दै चिन्ता गरेका छन् । 
रुपन्देहीको बुटवल उपमहानगरपालिकामा २६ जना, शुद्वोधन गाउंपालिकामा १८ तिलोत्तमा नगरपालिकामा १६ जना, रोहिणी गाउंपालिकाका जना १६, सिद्वार्थनगर नगरपालिकामा १५ जना, ओमसोतियामा गाउंपालिकामा १५ जना, देवदह नगरपालिकामा १० जना, गैडहवा गाउंपालिकामा ८ जना, मायांदेवी गाउंपालिकामा ८ जना, मर्चवारी गाउंपालिकामा ७ जना, सियारी गाउंपालिका ७ जना, सैनामैना नगरपालिका ७ जना, कञ्चन गाउंपालिका ६ जना, कोटहीमाई गाउंपालिकामा २ जना र समहीमाई गाउंपालिकामा १ जना गरी रुपन्देहीमा कुष्ठरोगीका विरामीको १७० स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी गराएको छ ।
रुपन्देहीलाई कुष्ठरोग निवारण जिल्ला बनाउनका लागि अहोरात्र खटेर समूदायमा पुगेर काम गर्दापनि विरामीहरुले रोग लुकाउने र खुल्न नमान्दा समस्या भएको स्वास्थ्य कार्यालय रुपन्देही प्रमुख उमादेवी थापाले बताइन । स्वास्थ्यको मापदण्ड अनुसार कुष्ठरोग निवारण गर्नका लागि १० हजार जनसंख्यामा १ संख्या भन्दा कमी हुनुपर्ने भएकाले रुपन्देहीलाई कुष्ठरोग निवारण गर्नेगरी कार्यक्रमहरु सञ्चालन गरिएको उनले बताइन ।
कुष्ठरोग प्रतिको भ्रम र डरलाई हटाउन परिवार, समूदायमा रोगबारे सचेतान जगाउनु पर्ने स्वास्थ्य अधिकृत रामप्रसाद भट्टराईले बताए ।
कुष्ठरोगको फैलावटलाई अबरुद्व गरेर जिल्ला र स्थानीय तहमा कुष्ठरोग सिनवारण गर्ने गरी कार्यक्रम अगाडी सारिएको स्वास्थ्य कार्यालय रुपन्देहीले बताएको छ ।






















