सुरक्षित भएर सञ्चारकर्ममा लाग्न पत्रकारहरुलाई प्रगतिशीलको आग्रह


काठमाडौँ, भदौ २४ गते । प्रगतिशील पत्रकार संघले अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न सरकारसंग माग गरेको छ । अध्यक्ष श्यामलाल पोखरेलको हस्ताक्षरमा २०८२ भदौ २४ गते मङ्गलबार प्रेसवक्तव्य जारी गर्दै यस्तो माग गरेको हो ।

देशमा महँगी, भ्रष्टाचार, कुशासन र राष्ट्रघातको अवस्थाले त्यसको विरोध गर्नु जनतालाई संविधानले नै दिएको अधिकार भएको स्पष्ट पार्दै वक्तव्यमा त्यसको रक्षा गर्नुपर्ने अध्यक्ष पोखरेलले बताएका छन् । अध्यक्ष पोखरेलले जारी गरेको वक्तब्यमा सम्पूर्ण मिडियाकर्मीलाई संयमित र सुरक्षित भएर सञ्चारकर्ममा लाग्न आग्रह गरिएको छ ।
प्रेस वक्तव्यको पूर्णपाठ –

“सामाजिक सञ्जालमाथिको रोक र भ्रष्टाचार विरुद्ध युवा पुस्ताको प्रदर्शनमाथि सरकारद्वारा गरिएको बर्बर दमनको प्रगतिशील पत्रकार सङ्घले घोर भत्र्सना गर्दछ । मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली, घाइतेको निःशुल्क उपचार र स्वास्थ्यलाभको कामना तथा मृतकका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ । प्रदर्शनमा समाचार कभरेज गर्न गएका कैयौँ पत्रकार घाइते भएकोमा निःशुल्क स्वास्थ्योपचारको माग गर्दछौँ ।
हाम्रो सङ्गठन सम्पूर्ण पत्रकारसमेतको जिउधनको रक्षा गर्न सरकारसित माग गर्दछ । देशमा महँगी, भ्रष्टाचार र कुशासनको गम्भीर अवस्था छ । यता, लिपुलेक प्रकरणमा देशको राष्ट्रियतामाथि आक्रमण भइरहेको छ ।
अर्कोतर्फ, सङ्घीयताले गर्दा देशको विकास कुण्ठित भएको छ । यी सबै विकृति, विसङ्गति र राष्ट्रघातको विरुद्ध आवाज उठाउनु जनतालाई संविधानले नै प्रदान गरेको मौलिक हक हो । जनताको त्यो हकको सम्मान गर्नुको सट्टा अनावश्यक बलप्रयोग गरेकाले हिजो भदौ २३ गते सोमबार १९ जनाको मृत्यु भइसकेको छ । चार सयभन्दा बढी घाइते भएका छन् ।
हामी सम्पूर्ण नेपाली जनताका अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न सरकारसंग माग गर्दछौँ साथै सम्पूर्ण मिडियाकर्मी साथीहरू संयमित र सुरक्षित भएर सञ्चारकर्ममा लाग्न हामी अनुरोध गर्दछौँ ।”























