रविको अपीलः देश जेनजीले चल्छ, राष्ट्रका सम्पत्ति जोगाऊँ


काठमाडौं । आज आन्दोलनकारीको दबाबमा जेलबाट रिहा भएका रास्वपा सभापति रवि लामिछानेले एक अपील जारी गरेका छन् । देश अब जेनजीको परिकल्पनाअनुसार चल्ने भन्दै देशको सम्पत्ति जोगाउनुपर्ने बताएका छन् ।

यस्तो छ पूर्णपाठः
आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु, सर्वप्रथम म यस आन्दोलनमा ज्यान गुमाउनुहुने सहिदहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाईतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । यस देशका लुटेराहरुले सजाय पाउने क्रम जारी छ । यिनको निजि सम्पति यिनको होईन, देशको ३ पुस्तालाई लुटेर यिनिहरुले जोडेका हुन । यिनको बाँकि सम्पति पनि पूर्ण रुपमा राष्ट्रीयकरण गरिनुपर्छ र यिनिहरुलाई कानुनी दायरामा समेत ल्याउनैपर्छ । तर हामीले अब अत्यन्त संयमित भई राष्ट्रका सम्पत्तिहरु जोगाउन जरुरी छ ।
राष्ट्रीय सुरक्षा संग सरोकार राख्ने प्रहरी, सुरक्षा निकाय, न्यायलय लगायतका दस्तावेजहरु राष्ट्रका महत्वपूर्ण सम्पत्ति हुन, तिनको संरक्षण गर्न सकिएन भने मुलुकको संबेदनशील दस्तावेजहरु नास हुनसक्छन् । जुन तपाई हाम्रा लागी र यो देशका लागी अत्यन्त क्षतिपूर्ण हुन सक्छन । सरकारी सम्पत्तिहरु क्षति हुँदा राष्ट्रकै सम्पतिको क्षति हुने हुँदा यसको संरक्षण गर्ने जिम्मेवारी पनि हाम्रै हो । यो आन्दोलन बिशुद्द जेन जीको हो । मुलुकको अबको नेतृत्व जेनजीकै माग अनुसार र जेन्जीकै परिकल्पना अनुरुप अघि बड्नु पर्छ भन्नेकुरामा म स्पष्ट छु ।

र म सदैव नागरिक सर्वोच्चताको पक्षमा छु । आम नागरिकको दबाब पछि सरकारले मेरो रिहाईको लागी कानुबमोजिमको प्रकिया पुरा गरि पत्र थमाए पछि मात्रै म कारागारबाट रिहा भई सिधै आम नागरिकसामु आउन पाएको हुँ । यसका बाबजुद पनि मुलुकको कानुन प्रति बफादार हुँदै भबिष्यमा आईपर्ने सम्पूर्ण आवश्यक कानुनी प्रक्रियाका लागि तयार रहेको जानकारी गराउँदछु । एक सचेत नागरिकका रुपमा अब सबैलाई संयमित हुन म हार्दिक अनुरोध गर्दछु ।






















