प्रधानसेनापति सिग्देलले नयाँ निकास पाउने गरी भोलि वार्ता गर्ने


काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देलले यसअघि राजसंस्था पुनर्स्थापना जन-आन्दोलनको जनकमान्डर बनेका दुर्गा प्रसाईसँग अबको निकासको बारेमा छलफल गरेका छन् ।

प्रधानसेनापति सिग्देलले विभिन्न पक्षसँग छलफल गर्ने क्रममा प्रसाईसँग पनि निकासका विषयमा वार्ता भएको सैनिक स्रोतले जनाएको हो । बिहीबार बिहान ८ बजे फेरि वार्ता गर्ने र छिट्टै देशले नयाँ निकास पाउने जनाइएको छ ।
विभिन्न छलफलका क्रममा अहिलेसम्म नयाँ सरकार गठनको प्रक्रिया र त्यसको नेतृत्वको बारेमा सहमति कायम भइसकेको छैन । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाममा बढी छलफल भएपनि प्रधान सेनापतिले काठमाडौंका मेयर बालेन शाहलाई नेतृत्व गरेर देश सम्हाल्न प्रस्ताव गरेको स्रोतले जनाएको हो ।

तर, मेयर बालेन इच्छुक नभएपछि पूर्वप्रधानन्यायाधीश कार्कीमा बढी छलफल भएको हो । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले पनि अन्तरिम सरकारको नेतृत्व गर्ने इच्छा गरेर प्रधानसेनापति सिग्देलसँग छलफल भएको स्रोतले जनाएको छ।






















