संवैधानिक सर्वोच्चताबाहिरको राजनीतिक निकास स्वीकार्य छैन – बार


काठमाडौँ, भदौ २६ गते ।नेपाल बार एसोसिएसनले संवैधानिक सर्वोच्चताबाहिरबाट खोजिने कुनै पनि समाधान वा नियुक्तिलाई नस्वीकार्ने र त्यसको विरोध गर्ने जनाएको छ । आज बिहीबार अहिलेको घटनाक्रमबारे बसेको भर्चुअल बैठकपछि सार्वजनिक अपिल जारी गर्दै बारले संवैधानिक सर्वोच्चताको कायम राख्न अपिल गरेको हो ।

‘संवैधानिक सर्वोच्चताबाहिरबाट खोजिने कुनै पनि समाधान वा नियुक्ति नेपाल बार एसोसिएसन स्वीकार गर्दैन, विरोध गर्दछ । यसो नगर्न हार्दिक अनुरोध गर्दछौँ’ अपिलमा भनिएको छ– ‘अन्तमा हालको सङ्कटको निकास संवैधानिक मान्यताभित्र खोज्न जेनजीलगायत सम्पूर्ण जनसमुदायमा नेपाल बार एसोसिएसन हार्दिक अपिल गर्दछौँ ।’
यस्तै संवैधानिक उपलब्धिको सम्झौता नगर्न र राष्ट्रपतिको भूमिका यो बेलामा अहम् हुने बताउँदै सक्रियताको अपेक्षा रहेको बारले जनाएको छ ।

‘देश जोगाऔँ, संविधानमा आवश्यक सुधार, परिमार्जन र संशोधन गरौँ, नेपाली भूमिमा नेपाली जनताको ढुकढुकीमा संविधान बचाऔँ । कुनै पनि बहानामा लोकतन्त्र, गणतन्त्र र समानुपातिक समावेशितासहितको सङ्घीयताजस्ता स्थापित संवैधानिक उपलब्धिमा सम्झौता नगरौँ’ बारले भनेको छ ।
बारको वक्तव्यमा अगाडि भनिएको छ– ‘यस सन्दर्भमा संविधानबमोजिम राष्ट्रको अभिभावकको रूपमा राष्ट्रपतिको भूमिका अहम् रहेको स्पष्ट छ । यो मामिलामा सम्माननीय राष्ट्रपतिको सक्रिय र अनुभूत गर्न सकिने र देखिने सहभागिताको अपेक्षा गर्दछौँ । नागरिक शासन अविलम्व कायम गरियोस् ।’
बारले कानुनको शासनलाई सर्वोपरि ठान्न र कानुनी तथा संवैधानिक व्यवस्थाबाट विचलित नहुन अनुरोधसमेत गरेको छ ।























