संसद विघटनले लोकतन्त्र मिचियो – चित्रबहादुर केसी

बुटवल, भदौ २८ गते । राष्ट्रिय जनमोर्चाले संसद् विघटनले लोकतन्त्रमाथि खतरा बढेको बताएको छ । संसद विघटन लोकतन्त्रमाथिको प्रहार भएको राष्ट्रिय जनमोर्चाको ठहर छ ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पूर्वप्रधान न्यायधिश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउन संसद् विघटन गर्नु गलत भएको भन्दै अध्यक्ष केसीले संसद विघटनले लोकतन्त्र मिचिएको बताएका छन् ।

अध्यक्ष चित्रबहादुर केसीको भदौ २८ गते शनिबार विज्ञप्ती जारी गरी संसद विघटनलाई गलत बताएका छन् । जेनजीले संसद् विघटनलाई पूर्वशर्त बनाउनु गलत भएको बताउँदै राजमोले उक्त गलत मागका सामु राष्ट्रपतिले अडान लिन नसकेको पनि विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीको पूर्णपाठ –

“१. यही भदौ २७ गते राष्ट्रपतिद्वारा सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकारको गठन तथा “नवगठित” अन्तरिम सरकारबाट संसद् विघटनको सिफारिसप्रति राष्ट्रिय जनमोर्चाको गम्भीर ध्यानाकर्षण भएको छ ।

२. राष्ट्रपतिद्वारा सुशीला कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकार संसद्बाहिरबाट गठन गरेको हुनाले राष्ट्रपतिको उक्त कार्यको हामीले विरोध गर्दछौँ । सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्दा संविधानलाई मिच्ने काम भएको छ ।

३. सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको पहिलो काम प्रतिनिधिसभालाई भङ्ग गर्ने भएको छ । हामीले प्रतिनिधिसभालाई विघटन गर्ने सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको निर्णयलाई गलत मान्दछौँ र त्यसको विरोध गर्दछौँ । जेनजी आन्दोलनका अगुवाले संसद् विघटनलाई पूर्वशर्त बनाएका थिए, जुन गलत थियो । उनीहरूका गलत मागका विरुद्ध राष्ट्रपतिले अडान लिन नसकेको नै स्पष्ट हुन्छ । संसद् विघटन नेपाली जनताको लोकतान्त्रिक अधिकारमाथिको आक्रमण हो ।

४. जेनजी आन्दोलनलाई आफ्नो प्रतिगामी उद्देश्यका पक्षमा लैजान राजावादीले पूरा शक्ति लगाएका थिए । त्यसमा उनीहरू पूरा सफल हुन सकेनन् तर संसद् विघटनले उनीहरूको प्रतिगामी उद्देश्यलाई केही मदत पुग्नेछ । त्यसकारण संसद् बाहिरबाट अन्तरिम सरकारको गठन र संसद् विघटनबाट प्रतिगामी शक्तिलाई मदत पुग्न नपाओस् । त्यसतर्फ गणतन्त्रका पक्षधर सम्पूर्ण राजनीतिक दलको ध्यानाकर्षण गर्दछौँ ।”