लायन्सको भूमिकाः मणिमुकुन्दद्धारा विद्यार्थीको शैक्षिक गुणस्तर बनाउन कम्प्युटर सहयोग

बुटवल । लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथले गुल्मीका दुई विद्यालयमा विद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा पोसाक सहयोग गरेको छ । सामाजिक क्षेत्रमा क्रियाशील लायन्स क्लब मणिमुकुन्दद्धारा गुल्मीको मालिका गाउँपालिमा–८, स्थित सञ्चालित श्री छत्र प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई भदौ २९ गते सामग्रीहरु सहयोग गरेको हो ।

क्लबले श्री छत्र प्राथमिकमा अध्ययरन एक सय ६५ जना र भगवती आधारभूत विद्यालयमा अध्ययनरत २१ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री, पोशाक वितरण गरेको क्लबका अध्यक्ष लायन टिकाराम पन्थीले जनाएका छन् । अध्यक्षले भने, हामीले दूरदराजमा रहेका नागरिकको स्वास्थ्य जाँच, ज्ञानको शिक्षा दिने विद्यालय र विद्यार्थीको अवस्था बुझेर विभिन्न सहयोग गर्दै आएको बताउँदै विद्यार्थीहरुलाई कम्प्युटर शिक्षा प्रदान गर्न सहज होस् भन्ने उद्देश्यले एक थान कम्प्युटरसमेत सहयोग गरेका छौं, आशा छ गाउँका विद्यार्थीहरुलाई सहयोग मिल्नेछ ।

कार्यक्रममा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दै क्लबका संस्थापक अध्यक्ष कमल थापा क्षेत्रीले विद्यार्थीको पढाइमा सानो भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले शैक्षिक सामग्री सहयोग लिएर बुटवलबाट गुल्मी आएको बताएका थिए । क्लबका पूर्वअध्यक्ष यदुमणि पोख्रेलले क्लबले हरेक बर्ष सामाजिक क्षेत्रमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको बताउँदै सोहीअनुसार विद्यार्थीहरुलाई शैक्षिक सामग्रीहरु उपलब्ध गराइएको जनाए ।

शैक्षिक सामग्री वितरण कार्यक्रममा श्री भगवती आधारभूत विद्यालयका प्रधानाध्यापक बिमला खड्काले विद्यालयको अवस्थाबारे जानकारी गराउँदै जिल्लास्थित विभिन्न संघसंस्थाको सहयोगमा विद्यालयको विकास र विद्यार्थीको अध्ययनमा सहयोग पुगेको बताएकी थिइन् । भगवती आधारभूत विद्यालयका प्रधानाध्यापक सुर्यप्रसाद अर्यालले विद्यालयको क्षेत्रमा सहयोग प्रदान गरेकोमा धन्यवाद दिएका थिए ।

कार्यक्रममा श्री भगवती आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर थापा, श्री छत्र प्राथमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष भक्त सुनार, लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथका पूर्वअध्यक्ष थानेश्वर अर्याल र लायन विष्णु खत्री लगायतको उपस्थिति रहेको थियो भने विद्यालयका निवर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नोखबहादुर पौडेलको उपस्थिति रहेको थियो ।