नारायणगढ मुग्लिन राजमार्ग पहिरोले अवरुद्ध

काठमाडौँ । लगातारको वर्षाका कारण देशभरका दुई मुख्य राजमार्गहरु पहिरोले अवरुद्ध भएका छन् । कर्णाली राजमार्ग र नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो खसेपछि यातायात पूर्ण रुपमा बन्द भएको छ ।

कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका–१, गगनेखोलामा पहिरो खसेर सडक अवरुद्ध भएको छ। यो क्षेत्रमा बारम्बार पहिरो खस्ने समस्या रहेको जुम्ला सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्रकुमार चौधरीले बताए । पहिरो पन्छाउन केही समय लाग्ने उनले जानकारी दिए ।

मुग्लिन इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार, इच्छाकामना गाउँपालिका–५ को तुइनखोला मा मंगलबार साँझ ८ः५० बजे पहिरो खसेर नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध भएको हो । केही सवारीसाधनलाई पार गराएपछि फेरि पहिरो खसेकाले सडक पूर्ण रुपमा बन्द भएको छ।

अहिले एक वटा एक्साभेटर प्रयोग गरेर पहिरो हटाउने काम भइरहेको छ र थप उपकरणहरु लैजाने तयारी भइरहेको छ । प्रहरी निरीक्षक सिंहले पहिरो हटाउन कम्तीमा दुई घण्टा लाग्ने अनुमान गरेका छन्।

यसैगरी, पृथ्वी राजमार्गको घोप्टे भिरमा पनि पहिरोका कारण सडक एकतर्फी मात्र सञ्चालनमा छ । नारायणगढ मुग्लिन सडककै नाम्सी खोलामा खसेको पहिरो भने पन्छाएर दुईतर्फी सडक सञ्चालन गरिएको छ। सडक अवरुद्ध हुँदा दुवै राजमार्गमा यात्रुहरु अलपत्र परेका छन् ।