कांग्रेस काठमाडौँले जेन–जी आन्दोलनका शहीदको सम्झनामा गर्यो दीप प्रज्वलन


काठमाडौँ । नेपाली कांग्रेस काठमाडौँ महानगर समितिले जेन–जी आन्दोलनमा शहीद भएकाहरूको सम्झनामा दीप प्रज्वलन गरेको छ । समितिले शनिबार साँझ कांग्रेस केन्द्रीय महामन्त्री गगनकुमार थापाको उपस्थितिमा राजधानीको शान्ति बाटिकामा जेन–जी आन्दोलनका शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरेको हो ।

उक्त कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी लगायतका नेताहरूसमेत सहभागी रहेका थिए । पार्टीमा गगन थापा समूहले जेन–जीहरुको मागलाई सम्बोधन गर्नुपर्ने बताउँदै आएको छ ।
जेन–आन्दोलन अघिदेखि नै थापा र उनको टिमले जेन–जीका पक्षमा बोल्दै आएका छन् । उनीहरु अहिलेको पुस्ता जेन–जीको भएकाले उनीहरुका विचारको कदर गर्नुपर्ने बताउँदै आएको छ । सोही बखतमा गत भदौ २३ गते जेन–जीहरुले भ्रष्ट सरकार र सामाजिक सञ्जालविरुद्ध आन्दोलन गरेका थिए ।

तर केपी शर्मा ओली नेतृत्वको सरकारले अन्धाधुन्ध गोली चलाएर ७२ जनाको ज्यान लिएको छ । गगन समूहले पार्टीलाई पुनर्जीवन दिनका लागि पुस्तान्तरण गर्नुपर्नेमा जोड दिएको छ । साथै विशेष महाधिवेशन गरेर नयाँ नेतृत्वसहित आगामी चुनावमा जानुपर्नेमा जोड दिएको छ । यति गर्न सकेमात्र कांग्रेसले जेनजी पुस्तालाई न्याय गरेको ठहर्ने विश्लेषणसमेत भइरहेको छ ।






















