चोरी गरिएका सरकारी सामग्री फिर्ता गर्न अपील

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हालैको जेनजी आन्दोलनका क्रममा चोरी भएका सरकारी सामग्री तत्काल फिर्ता गर्न आग्रह गरेका छन् । तोडफोड, आगजनी र लुटपाटमा संलग्नलाई प्रचलित कानुनअनुसार कारबाही गर्ने चेतावनी पनि दिइएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार, प्रदर्शनका क्रममा मन्त्रालयबाट टेलिभिजन, कम्प्युटर, ल्यापटप, प्रिन्टर, फोटोकपी मेसिन, माइक्रोओभन, हार्डडिस्क, स्क्यानर, क्यामेरा, आइप्याड, मोबाइल र हीटर लगायतका सामानहरु चोरी भएका छन् । यसबाहेक, चार पाङ्ग्रे र दुई पाङ्ग्रे सवारीसाधनहरूमा पनि आगजनी गरिएको थियो।

त्यसैगरी, कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पनि ल्यापटप, सीसीटीभी क्यामेरा, कम्प्युटर, डेस्कटप र मोटरसाइकलका ब्याट्रीहरु चोरी भएको जनाएको छ ।

दुवै मन्त्रालयले चोरीमा संलग्न व्यक्तिहरुको पहिचान सीसीटीभी फुटेजको आधारमा भइरहेको बताएका छन् । उनीहरुले चोरी गरिएका सामग्रीहरु कसैले लिएको वा प्राप्त गरेको भए तत्काल सम्बन्धित मन्त्रालय वा नजिकको प्रहरी कार्यालयमा बुझाइदिन आग्रह गरेका छन् । सामग्री फिर्ता नगरे कानुनबमोजिम कडा कारबाही गरिने दुवै मन्त्रालयले चेतावनी दिएका छन् ।