उद्यमशीलताको कथाः स्थानीय कच्चापदार्थबाट साबुन उत्पादन

रुपन्देही । दाङको घोराहीमा स्थानीय पदार्थको उच्चतम प्रयोग गरी हस्त र केही घरेलु मेसिनबाट साबुन उद्योग सञ्चालन हुँदै आएको छ । घोराही उपमहानगरपालिका–१५ का राजीव गौतमले विगत दश वर्षदेखि स्थानीय कच्चापदार्थको प्रयोगगरी साबुन लगायत चालीस थरीका बस्तुहरु उत्पादन गर्दै आएका छन् । पूर्वशिक्षक समेत रहेका गौतमले बेरोजगारीका कारण दैनिक विदेशिनेको संख्या बढ्दै गएका बेला किताबको ज्ञानलाई प्रयोगमा उतार्न सके स्वदैशमै केही गर्न सकिने गतिलो उदाहरण देखाएका हुन् ।

स्वदेशमै विदेशको विकल्प रोज्न सकिने उद्यम घोराहीमै गरेर देखाएका गौतमले सात जनालाई प्रत्यक्ष रोजगारी दिदै आएका छन् । घोराहीको नीमा हल रोडमा रहेको प्रभु लघु उद्योगबाट नुहाउने, भाँडा माझ्ने, कपडा धुने, स्याम्फू, सेतो फिनेल, कालो फिनेल, लाइजोन लिक्व्यूट, सीसा सफा गर्ने, गाडी टल्काउने, टायल, मार्वल लगायत साबुनजन्य बस्तुहरु उत्पादन गरेर जिल्लाका मुख्य शहरहरु घोराही, तुलसीपुर, लमही, भालुबाङ र जिल्ला बाहिर नेपालगञ्ज, बुटवलसम्म बिक्री गर्दै आएको र उत्पादित एक सय ग्रामको साबुनलाई प्रति गोटा मूल्य तीन सय रुपैयाँ देखि नुहाउने ५० रुपैयाँ सम्म कायम गरिएको बताइएको छ ।

स्थानीय कच्चापदार्थ चिउरीको घ्यू, नरिवलको तेल, निम तेल, पाम कर्नेल तेल, हलेदोको पातबाट निकालिएको तेल, मेन्थाको तेल, लेबेन्डर तेल, भाङ्गोको तेल, आलु, अदुवा, हलेदो, मेवा, टमाटर, सुन्तला, घ्यूकुमारीको रस, चामल, मसुरो, मुलेठीको धुलो, चनाको पिठो, ग्लिसिरिन, भिटामिन बि र भिटामिन इ लगायतको मिश्रण गरी साबुन उत्पादन गर्दै आएको विज्ञान तथा नेपाली साहित्यका पूर्वविज्ञान शिक्षक एवं रुन्टी उजेली मुख धुने साबुन अध्ययन अनुसन्धान (सुत्रकर्ता) गौतम बताउँछन् ।

नेपाली उत्पादनलाई चिनाउनलाई स्वदेशी कच्चापदार्थबाट बनाइएका उत्पादित बस्तुहरुको नामाकरण स्थानीय भूगोल र कच्चापदार्थ बस्तुहरुको राखिएको छ । आफुले कमाउने भन्दा पनि युवा पुस्तालाई आफ्नो ज्ञान सिकाएर उद्यमी बनाउने लक्ष्यका साथ उद्यमलाई सञ्चालन गरेको गौतमको भनाई छ ।

उनी भन्छन्, अहिले विदेश जाने लहर चलेको छ, तर हामीहरुले यही नै केही गर्नुपर्छ भन्ने सोँच बनाएर लाग्यौं भने असम्भव केही छैन् । नयाँ कामको सुरुआत गर्दा मेहनत गर्नुपर्छ, दुख नगरी केही हुँदैन भन्ने मान्यता राखेर अगाडि बढेमा गाउँठाउँबाटै आफु स्वरोजगारसँगै अन्यलाई पनि रोजगारी दिन सकिने प्रवल सम्भावनाहरु रहेका छन् ।

गौतमका अनुसार साबुन उत्पादनका लागि अधिकांश कच्चापदार्थ (९० प्रतिशत) स्वदेशकै र १० प्रतिशत भारतबाट खरिद गर्नुपर्ने हुन्छ । आफुले नै मेसिन बनाएर प्राकृतिक जडिबुटीयुक्त पदार्थको समिश्रणबाट बनाएको साबुनले शरिरका विभिन्न समस्याहरुलाई हल गर्ने दाबी गर्दै शरिर जिलाउने, अनुहारमा आउने डण्डिफोर, कोलो पातो, चाँया, डण्डिफोरले बनाएका काला दागहरु हटाउन, छाला चाउरी पर्ने समस्यालाई कम गर्ने र दाज लगायत समस्याको निराकरण गर्ने, फिनेल र गाडी धुनलाई स्याम्फू जस्ता गुणस्तरीय अर्गानिक सामाग्रीहरु उत्पादन गर्दै आएको बताइएको छ ।