कोशी र बागमतीमा भारी वर्षाको सम्भावना


काठमाडौं। हाल मनसुनी वायु कमजोर भए पनि स्थानीय वायुको आंशिक प्रभावका कारण आज (मंगलबार) देशका केही पहाडी भूभागमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

महाशाखाका अनुसार, आज दिउँसो कोशी प्रदेश लगायतका पहाडी भूभागमा मौसम सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली हुनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा अन्य प्रदेशका पहाडी र तराईका भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
विशेष गरी कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । आज राति पनि देशको पहाडी भूभागमा सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ।























