ओलीसहित पांच जनालाई विदेश भ्रमणमा रोक्न सरकारलाई सिफारिस

काठमाण्डौ, असोज १२ गते । एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसहित पांच जनालाई विदेश भ्रमण रोक्नका लागि न्यायिक आयोगले सरकारलाई सिफारिस गरेको छ । जेन–जी आन्दोलनमा दमन भएको जाँचबुझ गर्न गठित न्यायिक आयोग बनेको थियो ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा र काठमाडौंका निवर्तमान प्रमुख जिल्ला अधिकारी छवि रिजाल पासपोर्ट रोक्काको सूचीमा परेका छन् ।

आयोगले उनीहरूको राहदानी(पासपोर्ट) रोक्का गर्न सिफारिस गरेको हो । तर सिफारिसमा राहदानी रोक्का भन्ने शब्द प्रयोग नभई विदेश भ्रमणमा रोक लगाउन भनेको छ।

आयोगले उनीहरूलाई स्वीकृती बेगर काठमाडौं उपत्यका पनि छाड्न नपाउने व्यवस्था गर्न भनेको छ । छानविन र जाँचबुझको सिलसिलामा उनीहरू अनुसन्धानको दायरामा रहेको भन्दै आयोगले यस्तो सिफारिस गरेको हो ।