जेनजी आन्दोलनलाई साम्राज्यवादीको उपयोग मोहनविक्रम


चितवन, असोज २७ गते । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले जेनजी आन्दोलनलाई साम्राज्यवादी शक्तिले उपयोग गरेको बताएका छन् । गत भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलन भ्रष्टाचार र कुशासनविरुद्ध थियो, तर त्यो आन्दोलनमा घुसपैठ गरेर साम्राज्यवादी शक्तिले ध्वंस मच्चाएको तर्क गरे ।

राष्ट्रिय जनमोर्चा चितवनले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री सिंहले ‘सत्ताधारी दलको कुशासन र भ्रष्टाचारविरुद्ध आन्दोलन आवश्यक थियो । तर जेनजी पुस्ताको आन्दोलनलाई साम्राज्यवादी शक्ति मुख्यतः अमेरिकी साम्राज्यवाद र भारतीय साम्राज्यवादले उपयोग गरको दावी गरे ।
महामन्त्री सिंहले देशभरका विभिन्न प्रतिक्रियावादी वा राजावादी राप्रपा, रास्वपाजस्ता शक्तिले पनि जेनजी आन्दोलनलाई दुरुपयोग गरेको बताए । साम्राज्यवादी तथा पुनरुत्थानवादी शक्तिले नेपालमा जनआन्दोलनको बलमा प्राप्त भएको गणतन्त्र र धर्मनिरपेक्षताको विरुद्धमा भएको स्पष्ट पार्दै उनले त्यसैको परिणामस्वरूप अहिले संविधान खारेज, संसद् विघटन र संसद् बाहिरबाट प्रधानमन्त्रीको चयन भएको स्पष्ट पारे ।

नेता सिंहले अहिलेको जेनजी प्रकरणबाट जुनसुकै आन्दोलन सही नीति तथा कार्यक्रमको आधारमा सञ्चालन हुनुपर्ने अन्यथा त्यसले सही दिशा दिन नसक्ने बताउंदै उनले भने कुनै पनि आन्दोलन उसको सही नीति, नेतृत्व र कार्यक्रमको आधारमा सञ्चालन हुनुपर्दछ ।
सही नीति, अनुशासन र कार्यक्रमको अभावका कारण जेनजी आन्दोलनको क्रममा तोडफोड, आगजनी र विध्वंसात्मक गतिविधि भएको महामन्त्री सिंहको तर्क छ ।
जेनजी आन्दोलन संगठित र योजनाबद्ध नभएकाले नै अहिलेसम्म देशको राजनीतिले प्रष्ट दिशा लिन नसकेकाले अराजकता बढ्दो अवस्थामा देखिएको बताए । जेनजी आन्दोलन स्पष्ट राजनीतिक दिशाविना सञ्चालन भएको दावी गर्दै अहिले जेनजीका नाममा जुन बेग्लाबेग्लै विचार अगाडि आएका छन्, तीमध्ये कुन जेनजीका विचार हुन् भनेर छुट्याउन समस्या समस्या छ ।
महामन्त्री सिंहले हामीले संसदीय व्यवस्थालाई नै रणनीतिक रूपमा गलत मान्छौ त्यसको विकल्पमा नयाँ जनवादी व्यवस्था चाहिन्छ र चाहान्छौ भन्दै उनले भने नेपालको सन्दर्भमा राष्ट्रपतीय प्रणाली गलत छ । ‘राष्ट्रपतीय प्रणाली कस्तो हुन्छ, भनेर अमेरिकामा ट्रम्पको शासनले देखाइसकेको छ ।
राजमो चितवनका अध्यक्ष अमरबहादुर क्षेत्रीको अध्यक्षतामा कार्यक्रम भएको हो ।






















