प्रतिनिधिसभा विघटनविरुद्ध रिट दर्ता

बुटवल, असोज २८ गते । अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतमा आज असोज २८ गते बिहान ११ बजेसम्म छओटा रिट निवेदन दर्ता भएको छ ।सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार अहिलेसम्म छओटा रिट निवेदन दर्ता भइसकेको र अरू निवेदन पनि पेश हुने क्रममा छन् ।

रिट दायर गर्नेमा अधिवक्ता प्रेमराज सिलवाल, अधिवक्ता कृतिनाथ शर्मा पौडेल, युवराज सफल पौडेल, विपना शर्मा, आयुष बडाल र मकबुल मिया रहेका छन् ।

‘तीमध्ये केही रिट निवेदनमा सरकार गठनको प्रक्रियामा प्रश्न उठाएको देखिन्छ । केहीमा प्रतिनिधिसभा विघटनमाथि प्रश्न उठेका छन्’ उनले भने– ‘एकपछि अर्को रिट निवेदन पेस भइरहेकाले कुनमा कस्तोमा माग छ भनेर यकिन गरिसकेका छैनौँ । त्यसमाथि अरू निवेदन पनि आइरहेका छन् ।’

गत भदौको जेनजी प्रदर्शनका कारण आगजनीबाट ध्वस्त भएपछि सर्वोच्च अदालतको कामकारवाही प्रभावित भएको थियो । गत आइतबारको पूर्ण बैठकले रिट निवेदन दर्ता खुला गर्ने निर्णय गरेपछि रिट दर्ता हुने क्रम जारी छ ।

गत भदौ २३ र २४ गते जेनजी प्रदर्शनका कारण केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको थियो । त्यसलगत्तै भदौ २७ गते प्रतिनिधिसभाभन्दा बाहिरबाट पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्ति गरियो । त्यसपछि उनको सिफारिसमा प्रतिनिधिसभा विघटन भएको थियो । उनी नेतृत्वको सरकारले २१ फागुनमा आम निर्वाचन गराउने घोषणा गरेको छ ।