सरकारलाई निर्वाचनको वातावरण बनाउन देउवाको आग्रह

काठमाडौँ। नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनका लागि आवश्यक ध्यान दिनुपर्ने बताएका छन्।

जेन—जी आन्दोलनपछि पहिलो पटक मङ्गलबार पार्टी मुख्यालय सानेपामा सार्वजनिक भएका देउवाले पार्टी केन्द्रीय कार्य समितिको बैठकमा आफ्नो धारणा राख्दै सो आवश्यकता औंल्याएका हुन्।

सभापति देउवाले सरकारले फागुन २१ गते निर्वाचनको मिति घोषणा गरेपनि स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण बन्न नसकेको उल्लेख गर्दै सबै राजनीतिक दललाई निर्वाचनमा सहभागी गराउनका लागि आवश्यक वातावरण सरकारले बनाउनुपर्ने बताए।

उनले भने, सरकारले फागुन २१ मा निर्वाचनको मिति घोषणा गरेको छ । तर स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण बन्न सकेको छैन। निर्वाचनको लागि आवश्यक वातावरण बनाउन सके मात्र निर्वाचनमा सबै सहभागी हुने अवस्था बन्छ। त्यसतर्फ सरकारको ध्यान जाओस् । सभापति देउवाले देश र जनताको पक्षमा आफूले सकेको योगदान दिएको पनि सोही क्रममा बताएका छन्।