बुटवलमा मोनोपोल जडान

बुटवल, कार्तिक १० गते । बुटवलमा पहिलो पटक आधुनिक मोनोपोल टावर जडान गर्न थालिएको छ । १३२ केभी सर्किट प्रसारण लाइनमा ३० मिटर अग्लो आधुनिक मोनोपोल टावर जडान गर्न थालिएको हो ।

बुटवलको योगिकुटी कालिका पथदेखि होराइजन चोक हुँदै प्रसारण गरिएको १३२ केभी डबल सर्किट प्रसारण लाइनमा पहिलो पटक चारखुट्टे टावर हटाएर मोनोपोल जडान गर्न थालिएको हो । सडक खण्डमा ३०÷३० मिटरका दुई वटा र ३२÷३२ मिटरका दुई वटा मोनोपोल जडान गरिने योजना अनुसार शनिवारबाट काम सुरु गरिएको हो ।

चारवटा टावर हटाएर मोनोपोल टावर जडान गरिने विद्युत प्राधिकरण बुटवलले जानकारी गराएको छ । सडक र प्रसारण लाइनको दूरी कम भएकाले ठुला गाडीले लाइन छोएर दुर्घटना हुनसक्ने जोखिमलाई मध्येनजर गरेर मोनोपोल जडान गर्न लागिएको बुटवल उपमहानगरपालिकाले बताएको छ ।

सडक र लाइनको दुरी ६ मिटरभन्दा कम भएकाले दुर्घटनाको जोखिम बढेको थियो । अहिले दुर्घटनाको जोखिमलाई हटाउने गरी मोनोपोल जडान गर्न थालिएकाले कालिकापथको सडह यात्रामा सहज हुने महसुस गरिएको स्थानीय गोपाल ज्ञवालीले बताए ।

बुटवल विद्युत प्राधिकरणका अनुसार मोनोपोल जडानपछि लाइन र सडकको दुरी करिब ९ मिटरको हुनेछ । मोनोपोल विद्युत प्रशारण लाइन जडानका लागि ३ करोड ६५ लाख लगानीमा प्रशारण लाइन जडान गर्न थालिएको विद्युत प्राधिकरणले जानकारी गराएको छ ।
बुटवलबाट मोतीपुरतर्फको १३२ केभी डबल सर्किट प्रशारण लाइनको चारखुट्टे टावर हटाएर एक खुट्टे टावर जडान गरिने छ ।

कालिकापथको योगीकुटीदेखि न्यू होराइजनसम्मको ४ ठाउँमा मोनोपोल जडान थालिएको हो । हाल सो क्षेत्रमा रहेको पोलले सडकको ६ मिटर क्षेत्रफल ओगटेको छ । मोनोपोल भने केबल २ मिटरमा जडान हुनेछन् । चारखुट्टे टावरको बेसमेन्ट व्यास करिब ८ मिटर रहेकोमा मोनोपोलको बेसमेन्ट व्यास करिब २।५ मिटर मात्र रहेकाले सडक फराकिलो र आवागमनमा सहजता हुने विश्वास सडक आसपासका स्थानीय खुशी भएका छन् ।

बुटवलको बैकल्पिक मार्ग र व्यवसायिक मार्ग कालिका पथदेखि होराइजन चोकसम्म १३२ केभी सर्किट प्रसारण लाइनको पोलतार लत्रेका थिए ।जसका कारण सडकमा आवतजावतका लागि जोखिम जस्तै थियो ।