प्रतिनिधिसभा विघटन र अन्तरिम सरकार गठन प्रतिगमन – मसाल


बुटवल, कार्तिक १४ गते । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले प्रतिनिधिसभा विघटन र अन्तरिम सरकारको गठनलाई प्रतिगमन बताएका छन् । महामन्त्री सिंहले जेनजीको आन्दोलनपछि प्रतिनिधि सभा विघटन, अन्तरिक सरकार गठन र देशव्यापी रुपमा भएको ध्वंसात्मक कार्यले कारण देश झनै संकटमा उभिएको बताए ।

नेकपा मसालको केन्द्रिय समितिको बैठकका राजनीतिक विश्लेषण र निष्कर्ष जानकारी गराउनका लागि बुटवलमा प्रगतिशील पत्रकार संघ नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री सिंहले यस्तो बताएका हुन् । जेनजी आन्दोलनको घुसपैठमा भएको र त्यसको मुख्य भूमिकामा अमेरिकी साम्राज्यबाद नै भएको महामनत्री सिंहको दावी छ।
महामन्त्री सिंहले अहिलेको अन्तरिम सरकार र प्रतिनिधि सभा विघटन दुवै प्रतिगमन भएको बताउंदै व्याप्त भ्रष्टाचार, कुसाशन, ओली सरकारले सामाजिक सञ्जालमाथि अनाधिकृत रुपले लगाएको प्रतिबन्धका कारण अहिलेको अवस्था सिर्जना भएको बताए । जेनजीको आन्दोलनपछि देशको यो अवस्था ल्याउनुमा मुख्य जिम्मेवार ओली सरकार भएपनि ओली सरकारलाई मात्रै जिम्मेवार ठहराउन नहुने र त्यसका पछाडी अरको पनि आत रहेको बताए ।

कानुन बनाएर सामाजिक सञ्जाल नियमन गर्नुपर्नेमा ओली सरकारले जबरजस्ती गरेपछि देशमा जेनजी आन्दोलन शुरु भएको र जेनजी आन्दोलनको फाईदा लिएर घुसपैठ हुंदा आज देशले यो अवस्था भोग्नु परेको महामन्त्री सिंहको भनाई छ । ओली सरकारले भदौ २३ गतेको शान्तिपूर्ण तरिकाले देखा परेको आन्दोलनमा ओली सरकारले अनावश्यक शक्ति प्रयोगले देशमा यो अवस्था आएको बताउंदै जेनजी आन्दोलन माथि प्रयोग भएका गोली प्रहरीसंग नभएको तत्कालिन प्रधानमन्त्री ओलीले भनेकाले त्यसो हो भने प्रमाण दिनुपर्छ होइन भने ओली जवाफदेही हुनुपर्ने नेता सिंहको तर्क छ ।
ओली सरकारले शान्तिपूर्ण आन्दोलनमाथि गोली चलाएर जनतालाई दमन गरेको छ, त्यसको निष्पक्ष छानविन गरी कारबाही गर्नुपर्ने बताए । अनुसार आन्दोलनमा घुसपैठ गरेर २४ गते भएका आगलागी र तोडफोडका कार्यहरू जेनजी आन्दोलनका युवाहरूले नभएको दावी गर्दै महामनत्री सिंहले भने बाह्य तत्वबाट भएको दावी गर्दै बुटवल, प्युठान, अर्घाखाँची र सुर्खेतमा राष्ट्रिय जनमोर्चाका कार्यालयमा भएको आक्रमण पूर्वनियोजित षड्यन्त्र हो ।
सिंहले जेनजी आन्दोलन र अन्तरिम सरकारका पछाडि अमेरिकी साम्राज्यवादको भूमिका रहेको बताउंदै अमेरिकाले नेपाललाई इण्डोप्यासिफिक रणनीतिमा तान्ने र चीनविरुद्ध रणनीति अघि बढाउने प्रयास गरिरहेको छ, यसमा सचेत हुनुपर्छ । नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख (राष्ट्रपति) प्रणाली ल्याउने सोचलाई “अधिनायकवादको ढोका खोल्ने” सोंचका रुपमा व्याख्या गर्दे नेपाल जस्तो देशमा त्यस्तो प्रणालीले प्रजातन्त्र र राष्ट्रियता दुवैलाई खतरा हुने बताए ।
राजनीतिमा पुस्तान्तरणको प्रश्नमा सिंहले उमेरलाई मात्र आधार बनाउने सोंच गलत भएको उल्लेख गर्दै नेतृत्वका लागि उमेर होइन, सोच, दृष्टिकोण र इमान्दारिता नै मुख्य मापदण्ड भएको बताए । सिंहले देशमा फैलिएको भ्रष्टाचारलाई प्रमुख चुनौती बताउँदै भन्नुभयो–“देशको विकास तब मात्र सम्भव छ, जब भ्रष्टाचार नगर्ने, निष्कलंक छवि भएका नेताहरू विजयी हुन्छन् । पुरानो वा नयाँ दलको होइन, इमान्दार दल र नेता देशको लागि खांचो छ ।
महामन्त्री सिंहले राष्ट्रिय जनमोर्चा राजनीतिक रुपमा इमानदार र निष्कलंक पार्टी भएको बताउंदै पैसा बांडेर चुनाव जित्ने सत्तामा पुगेर राजनीतिलाई उद्योगका रुपमा प्रयोग गर्ने प्रचलनको अन्त्य नहुंदासम्म देशको विकासले गतिलिन नसक्ने बताए । उनले अहिले संविधान खारेज गर्नुपर्छ भन्ने कुरा उठिरहेकोबारे चर्चा गर्दै संविधान खारेज गर्दा देश झन संकटमा फस्ने भएकाले संविधान संशोधन गरेर संघीयता खारेज गर्नुपर्ने बताउंदै संविधानले गणतन्त्र, धर्मनिरपेक्षता, मौलिक अधिकार र बहुदलीय व्यवस्था दिएकाले यो संविधान खारेज गर्न नहुने महामनत्री सिंहको तर्क छ ।
सोही पत्रकार सम्मेलनमा बोल्दै राष्टिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कही कतै स्थानीय तहबाहेक पार्टी एकल चुनाव लड्ने बताएका छन् । सत्तामा रहेका दलहरुले शक्ति राष्टका एजेण्डा बोकेकाले देशले संकट भोग्नु परेको अहिले यो अवस्था सिर्जना भएको बताए ।
अध्यक्ष केसीले विदेशीको एजेण्डा बोकेर विदेशीलाई नागरिकता दिएको उल्लेख गर्दै दक्षिणले जनसांख्याखिक आक्रमण गरिरहेको बताए । अहिले आमा वंसजको रुपमा नागरिकता दिने यस अघिको सरकारले गरेको निर्णय झनै घातक रहेको बताए ।
प्रगतिशील पत्रकार संघ नेपालका अध्यक्ष श्यामलाल पोखरेलको अध्यक्षता, धनविर पुनको सञ्चालनमा भएको उक्त पत्रकार सम्मेलनमा राजमोका नेता बासुदेव पोखरेलले विज्ञप्ती बढेर सुनाएका थिए । शुक्रबार बुटवलमा मोहनविक्रम सिंह र चित्रबहादुर केसी पहिलो पटक एउटै मञ्चमा बसेर पत्रकार सम्मेलनमा बोलेका हुन् ।






















