माओवादीद्वारा एससहित नौ दलसँग एकता प्रस्ताव अनुमोदन


काठमाडौं। नेकपा (माओवादी केन्द्र) ले एकीकृत समाजवादीसहित विभिन्न नौ दलसँग पार्टी एकता गर्ने सचिवालय बैठकको प्रस्तावलाई अनुमोदन गरेको छ।

बुधबार बसेको पार्टीको महाधिवेशन आयोजक समितिको पूर्ण बैठकले उक्त निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन्। उनका अनुसार, एकतापछि पार्टीको नाम नेपाली कम्युनिष्ट पार्टी हुने भएको छ।
प्रवक्ता सापकोटाले पार्टीको मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद लेनिनवाद हुने तथा कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद हुने बताए। उनले पार्टीको तत्कालिक कार्यनीति पुँजीवादी, जनवादी क्रान्तिका उपलब्धिहरुको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण, सुशासन, सामाजिक न्याय, सामाजिक आर्थिक समृद्धि र रूपान्तरण गर्दै समाजवादको आधार तयार गर्ने रहेको दाबीसमेत गरे।

प्रवक्ता सापकोटाले पार्टीले एकता पछि गर्ने आन्दोलन शान्तिपूर्ण रहने तथा परिस्थितिअनुसार सडक, सदन र सरकारलगायत सबै मोर्चालाई आन्दोलनको मोर्चा बनाउने बताए।
उनले पार्टी एकता राष्ट्रिय सम्मेलन बुधवार काठमाडौंमा आयोजना गरिने पनि बताए। उक्त सम्मेलनबाट पार्टी एकता, पार्टीको घोषणापत्र, अन्तरिम विधान पारित र केन्द्रीय समिति गठन लगायतका कामहरु गरिने सापकोटाको भनाइ छ।






















