कांग्रेस केन्द्रीय कार्यालयको ताला खुल्यो


काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा विभिन्न माग राख्दै तीन दिनअघि लगाइएको ताला आज खुलेको छ। पार्टीका युवा नेताहरूले १५औँ महाधिवेशनको कार्यतालिका नतोकिएको भन्दै गत आइतबार लगाएको ताला कार्यवाहक सभापति पूर्णबहादुर खड्काले माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि खुलेको हो।

नेपाल विद्यार्थी सङ्घका पूर्वकोषाध्यक्ष शिव रिमालले कार्यवाहक सभापतिले आफूहरूका माग कार्यान्वयनका लागि तीन बुँदे प्रतिबद्धता जनाएपछि ताला खोलिएको जानकारी दिए।
कार्यवाहक सभापति र आन्दोलनरत पक्षबीच कांग्रेसको चालु केन्द्रीय समितिको बैठकले पार्टीको १५औँ महाधिवेशनको तालिका तोक्ने सहमति भएको छ। यसका साथै, विगत चार वर्षभित्र क्रियाशील सदस्यता नवीकरणको प्रगति विवरण सार्वजनिक गरी नेपाली कांग्रेसको वेबसाइटमा राख्ने सहमति पनि भएको छ।

यसैगरी, पार्टीभित्र ४० वर्षमुनिका ४० प्रतिशत युवा सहभागिताको माग सुनिश्चितताका लागि केन्द्रीय समितिको विधानमा परिमार्जन आवश्यक भएकाले त्यसबारे छलफल गरी माग सम्बोधन गर्न लाग्नेबारे पनि सहमति भएको छ।






















