बुटवलमा एमालेको प्रदर्शन र सभा


बुटवल, कार्तिक २९ गते । संसद पुनस्र्थापनाको माग गर्दै बुटवलमा एमालेले प्रदर्शन र सभा गरेको छ । लोकतन्त्र र संविधानको रक्षा, संसद पुनस्र्थापना र जेनजी पुस्ताको माग सम्बोधन गर्नुपर्ने माग राख्दै एमालेले बुटवलमा प्रदर्शनपछि सभा गरेको हो ।

उक्त सभामा बोल्ने एमाले नेताहरुले जेनजी आन्दोलनमा घुसपैठ गरेर गलत तत्वले देशमा विध्वंस मच्चाएको बताउंदै सार्वभौमसत्ता र स्वाभिमानमाथि विदेशी हस्तक्षेप बढेको बताए । उनीहरुले एमालेलाई कमजोर बनाउने गरी देशी विदेशी शक्तिहरु लागिपरेको बताउंदै एमाले सिध्याउन खोज्ने विरुद्द प्रतिकार गरिने चेतावनी दिए ।
सभामा बोल्दै नेकपा एमालेका सचिव तथा पूर्व मन्त्री छविलाल विश्वकर्माले देशमा एमालेविरुद्द षडेयन्त्र भैरहेको बताउंदै जस्तोसुकै षडेयन्त्र गरिएपनि एमाले कमजोर नहुने र देशको नेतृत्व एमालेले मात्रै गर्न सक्ने बताए ।एमाले सरकारमा हुंदा भएका विकासका कामहरुबाट अत्तालिएको प्रतिगामीहरुले देश, जनता र एमालेविरुद्द षडेयन्त्र गरिरहेको बताउंदे त्यसकाविरुद्द एमाले सशक्त भएर अघि बढेको दावी गरे । उनले भदौ २३ र २४ गतेको घटनामा संलग्नहरुको पहिचान गरी कानुनी कारवाही गर्नुपर्नेमा जोड दिए ।

एमाले पोलिटब्युरो सदस्य लिला गिरीले जेनजी आन्दोलनका कारण संविधान संकटमा परेको बताउंदै संसद पुनस्र्थपना गरेर देशलाई निकास दिनुको विकल्प नभएको बताए । राष्ट्र, राष्ट्रियता, संविधान, लोकतन्त्र संकटमा परेको बेला एमाले सडमा आउनु परेको बताए ।
एमाले निकट युवा संघका निवर्तमान महासचिव सुमन पुरीले एमालेले संविधान, राष्ट्र, राष्ट्रियता र समृद्धिका पक्षमा रहेको बताउंदै यो सरकारले चुनाव गराउन नसक्ने दावी गर्दै संसद पुनस्थार्पना गरेर मुलुकलाई निकास दिनुपर्ने बताए ।
युवा संघका पूर्व उपाध्यक्ष राजु गुरुङले जेनजी आन्दोलनका मागहरु उचित भएपनि उक्त जेनजीको आन्दोलनमा घुसपैठ गरेर देशका राष्ट्रिय सम्पदा, दलकहरुका पार्टी कार्यालय, नेताहरुका घर, व्यापारिक प्रतिष्ठान खोजी खोजी आगजनी गर्नेकार्य गलत भएको बताउंदै घुसपैठ गरेर घटना घटाउनेलाई कारवाही गर्नुपर्नेमा जोड दिए ।
एमाले रुपन्देही अध्यक्ष यज्ञ गैरेले भदौ २३ र २४ गते घटना घटाउनेहरुको एमालेले डाइरीमा नाम लेखेर राखेको बताउंदै यो सरकारले दोषीलाई कारबाहीको दायरामा नल्याय एमालेले प्रतिकार गर्ने चेतावनी दिए ।
रुपन्देहीका १६ वटै स्थानीय तहबाट सभामा नेता तथा कार्यकर्तालाई सहभागिता गराईएको एमाले निकट जनसंगठन समन्वय समिति रुपन्देहीका प्रमुख बाबुराम पन्थीले जानकारी गराए ।
एमाले रुपन्देही अध्यक्ष यज्ञ गैरेको अध्यक्षता र उपाध्यक्ष हितराज पन्थीको सञ्चालनमा कार्यक्रम भएको थियो । बुटवल राजमार्ग चौराहाबाट सुरु भएको प्रदर्शन ट्राफिकचोकमा पुगेर सभामा परिणत भएको थियो ।























