राष्ट्रिय जनमोर्चा अबको चुनाव एक्लै लड्छ – मोहनविक्रम

गोपालप्रसाद भट्टराई

अर्घाखांची, कार्तिक २९ गते । नेपाल कम्युनिष्ट पार्टी मसालका महामन्त्री मोहनविक्रम सिंहले अब हुने निर्वाचनमा राष्ट्रिय जनमोर्चा एक्लै चुनाव लड्ने बताएका छन् । विगतका चुनावी एकतामा सहयात्री दलले बेइमानी गरेको उल्लेख गर्दै पछिल्लो घटनाक्रमले राजनीतिक सहकार्य नगर्ने निर्णयमा पुगिएको महामन्त्री सिंहले बताए ।

अर्घाखांचीको सन्धिखर्कमा सम्पन्न राष्ट्रिय जनमोर्चाको अगुवा नेताकार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै महामनत्री सिंहले जेनजी आन्दोलनले ओली नेतृत्वको सरकारलाई पतन गराए पनि युवाहरू आफै गन्तव्यहिन भएको तर्क गरे ।

स्पष्ट विचारसहितको संगठनविना गरिएको आन्दोलनलाई साम्राज्यवाद र स्वतन्त्र तिब्बतका एजेन्टले उपयोग गरी दिशाविहीन बनाइदिएको बताउंदै महामन्त्री सिंहले भने ‘अमेरिका, भारत र स्वतन्त्र तिब्बतका स्वार्थ समूहले जेनजीलाई प्रयोग गरे । माओवादी, राजावादी र रास्वपाले समेत युवा उचाले’ महामन्त्री सिंहले भन्नुभयो– ‘जसको परिणामले देश अझ राजनीतिक खाडलमा फस्यो ।

अहिले पनि नेपाललाई अस्थिरतामा झुलाएर फाइदा उठाउने देशी तथा विदेशी प्रतिक्रियावादीको चलखेल र डिजाइन भइरहेको महामन्त्री सिंहको दाबी छ । राष्ट्रभक्त शक्ति सबै एक ठाउँमा उभिएर देश र संविधानको रक्षा गर्नुपर्ने, सङ्घीय व्यवस्था तत्काल खारेज गरी देशलाई निकास दिनुपर्ने र सबल नेपाल निर्माणमा जिम्मेवार ढङ्गले लाग्नुपर्नेमा उहाँको जोड छ ।

राजमो अर्घाखांचीका अध्यक्ष थम्मन केसीको अध्यक्षता, सचिव बाबुराम पन्थीको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा राजमो नेताहरू शेरबहादुर बिसी, बासुदेव पोखरेल, झविलाल थापालगायतले बोलेका थिए ।