भूमिका स्थानमा बुक फ्री फ्राइडे कार्यक्रम प्रभावकारी


अर्घाखांची, मंसिर ५ गते । अर्घाखांचीको भूमिकास्थान नगरपालिकामो ‘बुक फ्री फ्राइडे’ कार्यक्रम सञ्चालन गरिएको छ । जुन कार्यक्रम प्रभावकारी बनेको छ । विद्यार्थीलाई पाठ्यपुस्तक भन्दा बाहिरबाट सिकाइ अनुभव गराउने गरी सुरु गरिएको ‘बुक फ्री फ्राइडे’ कार्यक्रमले विद्यालयहरुमा सकारात्मक परिवर्तन ल्याएको छ ।

नगरपालिकाले प्रत्येक शुक्रबार कक्षामा पुस्तकविना सृजनात्मक, व्यावहारिक र सिपमूलक गतिविधि सञ्चालन गर्ने व्यवस्था गरेको छ । यसले विद्यार्थीमा आत्मविश्वास, नेतृत्व क्षमता, अभिव्यक्ति कौशल र सामाजिक ज्ञान बढाउन ठुलो भूमिका खेलेको विद्यालयले बताएका छन् ।
विद्यार्थीले सामूहिक रूपमा गोलभेँडा तथा अन्य तरकारी खेती, सालको पातबाट टपरी बनाउने गरेको भरुमिकास्थानका नगर प्रमुख झविलाल थापाले बताए ।

‘बुक फ्री फ्राइडे’ कार्यक्रमले विद्यार्थीलाई पाठ्यपुस्तक केन्द्रित शिक्षाबाट बाहिर निकालेर जीवनोपयोगी सीप, वादविवाद, खेलकुंद, कला, वातावरणीय सिकाइ, सामुदायिक अध्ययन, समूहगत कार्यमा सहजता मिलेको विश्व मावि ढाकाबाङका शिक्षक जुमलाल खनालले बताए । शिक्षक खनालका अनुसार कार्यक्रमपछि विद्यार्थी कक्षामा सक्रिय, आत्मनिर्भर र उत्साहित बनेका छन् ।
भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झबिलाल थापाका अनुसार विद्यार्थीलाई किताब मात्र होइन, अनुभवबाट पनि सिक्न सकिन्छ भन्ने धारणा स्थापित गर्न यो अभियान सुरु गरिएको हो । अभिभावक, शिक्षक र विद्यालय व्यवस्थापनको सहकार्यले कार्यक्रम अझै प्रभावकारी बन्दै गएको छ ।
नगरपालिकाले आगामी दिनमा बुक फ्री फ्राइडेअन्तर्गत नयाँ गतिविधि, सिपविकास तालिम, स्थानीय संसाधनको उपयोग तथा सामुदायिक सहभागिता थप विस्तार गर्ने नगरप्रमुख थापाले बताए । स्थानीय अभिभावकका अनुसार यो पहलले बच्चामा सामाजिक व्यवहार, टिमवर्क, संस्कार र अनुशासन जस्ता पक्षमा उल्लेख्य सुधार देखिएको छ ।
नगर पालिकाले शिक्षामा सुधार ल्याउन र व्यवहारिक शिक्षामा जोड दिंदै नयां कार्यक्रम ल्याएपछि शिक्षा षेत्रमा परिवर्तन आउन सक्ने संकेत देखिएको स्थानीयले बताए ।






















