जलजला उपन्यासबारे मनोज भट्टको समालोचनात्मक कृति विमोचन


बुटवल, मंसिर २० गते । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले केही महिना अगाडि प्रकाशित कामरेड जलजला उपन्यासबारे राजमोका महासचिव मनोज भट्टको समालोचनात्मक कृति विमोचन भएको छ । शनिबार काठमाण्डौमा जलजला उपन्यासको विवेचना’ विमोचन गरिएको हो । 

‘कामरेड जलजला’ उपन्यासका लेखक मोहनविक्रम सिंहले मनोज भट्टले लेखेको पुस्तक विमोचन गरेका हुन् । सो अवसरमा नेकपा (मसाल) महामन्त्री सिंहले लिखित मन्तव्य प्रस्तुत गर्दै विवेचनात्मक पुस्तक लेख्नुभएकोप्रति ख्शी हुंदै लेखक भट्टलाई धन्यवाद ज्ञापन गरेका छन् ।
‘कमरेड जलजला’ पुस्तकमा दार्शनिक, वैचारिक पक्षका साथै आमाको मायालाई विशेष महत्त्व दिइएको र त्यस क्रममा पूरै विश्वलाई आमामय बनाउन खोजिएको बताए । उपन्यासमा “गीता” को ‘निष्काम भावना’ को अर्थ आमू्ल परिवर्तनको आन्दोलनमा व्यक्तिगत फलको आशा नगर्नु रहेको सिंहको भनाई छ ।

नेपाली कम्युनिस्ट पार्टीका नेता दीनानाथ शर्माले ‘कामरेड जलजला’ उपन्यासका सबै पात्र नेपाली कम्युनिस्ट आन्दोलनसित सम्बन्धित रहेपनि उक्त पात्रहरु काल्पनिक रहेको बताए । उनले जलजला चौथो महाधिवेशन धारकी जनतासँग घुलमिल हुन सक्ने र जुझारु चरित्र रहेकी महिला भएको उल्लेख गर्दै बागलुङमा अहिले जुन महिला संगठन छ, त्यसको इतिहास जलजलाले स्थापना गरेको महिला समितिसँग जोडिने बताए । ‘कामरेड जलजला’ उपन्यासको अध्ययनबाट नेपाल कम्युनिस्ट आन्दोलनप्रति शोध गर्न चाहने विद्यार्थीलाई सहयोग प्ग्ने नेता दीननाथलको भनाई छ ।
नेकपा एमालेका उपमहासचिव तथा प्रगतिवादी साहित्यकार प्रदीप ज्ञवालीले पठन संस्कृति खस्केर सामाजिक सञ्जालका केही शब्दबाट धारणा बनाउने अहिलेको समयमा ‘कामरेड जलजला’ माथिको अर्को विवेचनात्मक कृति आउनु स्वागतयोग्य भएको भन्दै लेखकप्रति धन्यवाद ज्ञापन गरे । जलजला उपन्यास पढिनसकेका पाठकका लागि भट्टको पुस्तकले मदत गर्ने चर्चा गर्दै नेता ज्ञवालीले उपन्यासमार्फत कम्युनिस्ट पार्टीभित्रको अन्तरसंघर्ष र फुट देखाइएकाले उपन्यासले इतिहासको केही पक्ष पनि समेटेको बताए ।
लघु कथामा विद्यावारिधि गर्नुभएका भाषा आयोगका सदस्य डा. पुष्करराज भट्टले अनुभव नभए पनि पुस्तकका लेखकले समालोचना विधाप्रति न्याय गरेको बताए । प्रगतिवादी समालोचनामा क्रान्तिकारी आशावाद जगाउनु आवश्यक रहेको बताउँदै उहाँले प्र्रस्तुत पुस्तकले ‘कामरेड जलजला’ उपन्यासप्रति पाठकको जिज्ञासा बढाएको भन्दै खुशी व्यक्त गरे ।
नेपाल प्रज्ञा–प्रतिष्ठानकी प्राज्ञ बाबा बस्नेतले उपन्यासको क्षेत्रमा ‘कामरेड जलजला’ उपन्यास ‘सगरमाथा’ नै भएको दाबी गरिन् । उक्त उपन्यासले प्रेमप्रकाशसँगै विश्वदर्शन पनि प्रदान गरेको दाबी गर्दै उहाँले लेखक भट्टले त्यसको विवेचना गरेर महत्त्वपूर्ण कार्य गरेको बताउंदै ‘कामरेड जलजला’ उपन्यासलाई महाउपन्यासको संज्ञासमेत दिइन ।
प्रगतिवादी समालोचक खेम थपलियाले कम्युनिस्ट आन्दोलन सिद्धियो भनेर भनिएका बेला ‘कामरेड जलजला’ जस्तो उपन्यास आउनु अत्यन्तै खुसीको कुरा भएको बताए । समालोचनालाई व्यर्थको कार्य बताउने प्रतिधु्रवीय तर्कको खण्डन गर्दै उहाँले यस खालको समाचलोचनाले महत्त्व राख्ने विचार व्यक्त गर्दै उनले भने – लेखक भट्टको समालोचनालाई निर्धक्कसाथ प्रगतिवादी वा माक्र्सवादी समालोचना भन्न सकिन्छ ।
समालोचक हरिप्रसाद सिलवालले रूप पक्षको तुलनामा अन्तरवस्तुमा ध्यान दिने माक्र्सवादी समाचोचनाअनुसार नै भट्टको पुस्तक आएको बताए । प्रस्तुत पुस्तक पद्धतिपरक ढंगले नै आएको दाबी गर्दै ‘कामरेड जलजला’ जस्तो अपूर्ण उपन्यासको विवेचना गर्ने कार्य कष्टसाध्य तर प्रशंसायोग्य भएको बताए । समालोचक सिलवालले लेखक उपस्थित नभईकन कुनै पनि कृतिको रचना हुन नसक्ने भएकाले ‘कामरेड जलजला’ उपन्यासमा मोहनविक्रम सिंहको विचार, दर्शन र सहभागिता देखा पर्नु अन्यथा नहुने धारणा व्यक्त गरे ।
विश्वभाषा क्याम्पसका प्रमुख बलभद्र भारतीले ‘कामरेड जलजला’ उपन्यास सिङ्गो नेपाली कम्युनिस्ट आन्दोलनको परिचय भएको दाबी गरे । उपन्यासको परिवेश नेपाल, भारत मात्रै नभएर विश्व नै रहेकाले प्र्रस्तुत कृतिको विश्वव्यापी महत्त्व रहेको बताउंदै उपन्यासलाई दस्तावेजीकरण गरेर लेखक भट्टले महत्वपूर्ण काम गर्नुभएको भन्दै लेखक भट्टप्रति आभार व्यक्त गरे ।
अखिल नेपाल प्रगतिशील लेखक सङ्घका महासचिव भीष्म जोशीले ७७ वर्षदेखि निरन्तर कम्युनिस्ट आन्दोलनमा क्रियाशील व्यक्तित्वद्वारा लिखित ‘कामरेड जलजला’ उपन्यासको विवेचना गर्ने कार्य गरेकोमा लेखक भट्टलाई धन्यवाद दिए । जलजला उपन्यासमा वैश्विक नभएर ब्रह्माण्डीय दर्शनसमेत रहेको बताउंदै माक्र्सले संसारको व्याख्या मात्र नभएर रूपान्तरणमा जोड दिएको प्रसङ्ग जोड्दै उहाँले जलजला उपन्यासले पनि त्यही विचारमा जोड दिएको बताए ।
कार्यक्रममा लेखक भट्टले सङ्क्षिप्त मन्तव्य राख्दै पुस्तकाकारमा आफ्नो पहिलो साहित्यिक कृतिमाथि धारणा राख्ने सबैप्रति आभार व्यक्त गरेका थिए ।
कार्यक्रममा महिला नेतृ तथा पूर्व सांसद मिना पुन, प्रलेसका पूर्व अध्यक्ष मातृका पोखरेल, अखिल नेपाल किसान महासंघका अध्यक्ष भैरवराज रेग्मी, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेल, राजमो केन्द्र्र्रीय सल्लाहकार आनन्द शर्मा, राष्ट्रियसभाका सांसद राजेश विश्वकर्मा, अधिवक्ता एकनारायण भण्डारी, सीमाविद तथा पत्रकार रतन भण्डारीलगायत ठुलो संख्यामा लेखक, साहित्यकार र पाठकको उपस्थिति रहेको थियो ।
नेकपा मसालका प्रवक्ता रामप्रकाश पुरीको अध्यक्षता र प्रगतिशील लेखक संघका उपाध्यक्ष समीर सिंहको सञ्चालनमा कार्यक्रम भएको थियो ।






















