पुस ३ देखि बुटवलमा राष्ट्रिय औद्योगिक प्रदर्शनी

श्यामलाल पोखरेल
बुटवल, मंसिर २९ गते । अर्थतन्त्रलाई चलायमान गराउने उद्वेश्यले रुपन्देहीको बुटवलमा औद्योगिक प्रदर्शनी आयोजना हुंदै छ । रुपन्देही उद्योग संघले यही पुस ३ गतेदेखि १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०८२ आयोजना गर्न लागेको हो ।

बुटवलको रामनगरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सञ्चालन हुने राष्ट्रिय औद्योगिक प्रदर्शनी पुस १७ गतेसम्म चल्ने आयोजक संस्था रुपन्देही उद्योग संघले जानकारी गराएको छ ।

महोत्सव सफल बनाउन ६५ सदस्य रहेको मूल समिति, १ सय ६१ सदस्य विशेष सल्लाहकार समिति, २ सय ५१ सल्लाहकार समिति र विभिन्न ३२ वटा उपसमिति गठन गरिएको आयोजक संस्था रुपन्देही उद्योग संघका अध्यक्ष कृष्ण पराजुलीले जानकारी गराए ।आज महोत्सव हेर्न आउने दर्शकलाई भोलीका दिनमा उद्योगी बनाउने गरी यो महोत्सव आयोजना गरिएकाले अहिलेको महोत्सव आमदर्शकका लागि विशेष हुने अध्यक्ष पराजुलीले बताए ।

उत्पादक र उपभोक्ताई एक आपसमा जोडेर हरेक प्रकारका स्वदेशी उत्पादनहरुको बजारीकरण गर्ने राष्ट्रिय औद्योगिक प्रदर्शनी उद्देश्य रहेको बताउंदै अध्यक्ष पराजुलीले भने अहिले आर्थिक मन्दीको अवस्थालाई चलायमान बनाउने हाम्रो अर्को प्रमुख उद्देश्य हो । यसमा सबै क्षेत्रको साथ सहयोग र समर्थन आवश्यक छ ।

सबै क्षेत्रलाई समेटेर महोत्सव आयोजना गरिएको जानकारी गराउंदै अध्यक्ष पराजुलीले भने – उद्योग, कृषि, पर्यटन र प्रविधिलाई विशेष महत्व दिईएको छ । १५ दिनसम्म चल्ने उक्त महोत्सवमा ३ सय ५० वटा स्टल राखिने छ । उक्त स्टलहरुमा स्वदेशी उत्पादनलाई मात्र प्राथकिमता दिएर त्यही अनुसारका स्टलहरु राखिएको छ ।

नेपाली उद्योगहरुबाट उत्पादन भएका समानहरु र कृषि उत्पादनहरु स्टलहरुमा राखिने छ । त्यस्तै २१ औं सताब्दीको युग अनुसार प्रविधिलाई प्राथमिकता राखिनुका साथै पर्यटनलाई पनि महोत्सवले महत्व दिएको छ । आर्थिक सम्वृद्धिको आधार नै कृषि र पर्यटन भएकाले लुम्बिनी र मुक्तिनाथलाई जोड्ने गरी गेट निर्माण गरिने आयोजकहरुले बताएका छन् ।

सम्वृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार भन्ने मुख्य नारासहित आयोजना गरिएको महोत्सवमा ४ सय ५० स्टल राखिने र आइतबारसम्म ३ सय ५० वटा स्टल बुकिङ भएको संघका कार्यालय प्रमुख यादव भण्डारीले जानकारी गराएका छन् ।

नेपाल उत्पादन भएका तर अन्तर्राष्ट्यि बजारमा विक्री हुन सक्ने स्वदेशी ठूला ब्राण्डका समान, विभिन्न बेकरिज, कृषि पेवोलियन, गार्बेन पेवोलियन, हाउसवल्र्ड पेबोलियन र कृषिका स्टलहरु राखिने छ । संघका अध्यक्ष कृष्ण पराजुलीका अनुसार महोत्सवको पूर्व सन्ध्यामा पुस २ गते विभिन्न भेषभुषा र झांकीसहित औद्योगिक र्याली निकालीले र ३ गते दिउंसो २ बजेर ठिक १६ मिनेटमा अर्थमन्त्री रामेश्वर खनालको हातबाट उद्घाटन गरिने कार्यक्रम तय भएको छ ।

लुम्बिनी प्रदेशमा आयोजना हुने मेला महोत्सव मध्ये सबै भन्दा ठूलो महोत्सव मान्निछ । अन्त भन्दा आर्थिक कारोवार पनि बढीहुने बुटवलमा आयोजना हुन लागेको राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सवले बजारलाई चलायमान बनाउन सहयोग पुग्ने उद्योगी व्यवसायीहरुले बताएका छन् । उक्त महोत्सवमा १८ वटा होटलहरु राखिने आयोजक रुपन्देही उद्योग संघले बताएको छ ।

आर्थिक चलायमान बनाउने उद्देश्य बोकेको महोत्सवमा नेपाल पत्रकार महासंघको सहयोगमा फोटो प्रदर्शन गरिने छ । रुपन्देही क्षेत्रका पर्यटकीयस्थल, पुराना उद्योगहरु, पुरातात्विक महत्वका स्थलहरुका फोटाहरु प्रदर्शन गरिने आयोजक संस्था रुपन्देही उद्योग संघका बरिष्ठ उपाध्यक्ष जीवकान्त काफ्लेले जानकारी गराए ।

तयारी अन्तिम भैसकसको महोत्सव स्थलमा अहिले धमाधम स्टलहरु निर्माण गर्ने काम भैरहेको छ । मञ्च, बालउद्यान र प्रवेशद्दारमा मुलगेट बनाउने काम भैरहेको छ ।

बुटवलमा औद्योगिक तथा व्यापार मेला २०५५ सालदेखि आयोजना गर्न थालिएको हो । २०४५ सालदेखि बुटवल उद्योग वाणिज्य संघ र रुपन्देही उद्योग संघले आलोपालो मेला महोत्सवहरु आयोजना गर्दै आएका छन् ।

पछिल्ला वर्षमा औद्योगिक प्रदर्शनी तथा महोत्सवहरु सञ्चालनमा रुपन्देही व्यापार संघ र उद्योग व्यापार संघले पनि आलोपालो सञ्चालन गर्दै आएका छन् ।