बुटवलको प्रदर्शनीमा दर्शककको भीड, सात दिनमा ८ करोड बढीको कारोवार

बुटवल, पुस ९ गते । रुपन्देही उद्योग संघको आयोजनामा बुटवलमा जारी १६ औं औद्यौगिक प्रदर्शनी, कृषि प्रविधि तथा पर्यटन महोत्सवमा सात दिनको अबधीमा १ लाल बढी दर्शकले अवलोकन गरेका छन्, भने ८ करोड आर्थिक कारोवार भएको छ ।

पुस ३ गतेदेखि शुरु भएको महोत्सव तथा प्रदर्शनीमा बुधबारसम्म ८ करोड बढी आर्थिक कारोवार भएको संघका कार्यकारी प्रमुख यादव भण्डारीले बताए । पुस १७ गतेसम्म चल्ने प्रदर्शनीको ८ लाख दर्शकले अवलोकन गर्ने र ३० करोड आर्थिक कारोबार गर्ने योजनाका साथ प्रदर्शनी तथा मेला सञ्चालन गरिएको आयोजकहरुले बताएका छन् ।

‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ सुरु भएको प्रदर्शनीमा विभिन्न विधाका १० वटा पेभिलियनहरु निर्माण गरिएको र ३९ जिल्लाबाट सहभागिता रहेको छ । औद्योगिक प्रदर्शनीमा स्वदेशी उत्पादनहरुका स्टल मात्रै राखिएको छ।
प्रदर्शनीमा कृषि, पर्यटन र प्रविधिलाई विशेष प्राथमिकतामा राखिएको र करिब ४० प्रतिशत महिला उद्यमी र कृषि उपजका स्टलहरु रहेको रुपन्देही उद्योग संघका अध्यक्ष कृष्ण पराजुलीले जानकारी गराए ।

स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने मुख्य उद्देश्यले सञ्चालन गरिएको प्रदर्शनीलाई मनोरञ्जनात्मक बनाउन सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएको छ । लोकदोहोरी गायक गायीकावीच दैनिक दोहोरी लोक गीतमा प्रतियोगिता, भजन प्रतियोगिता, आयोजना गरिएको र नेपालका ख्यातिप्राप्त आधुनिक गायक गायिका, हाँस्य कलाकार, ब्याण्डहरुको सांगीतिक कार्यक्रमका साथै विद्यालयस्तरीय लोकनृत्य तथा वक्तृत्वकला प्रतियोगिता, प्रदर्शनी आइडल, भजन प्रतियोगिता सञ्चालन गरिएको सांस्कृतिक उपसमितिका संयोजक लालप्रसाद बस्यालले जानकारी गराए ।

घरेलु उत्पादन, सामुहिक उत्पादन, हस्तकला, संस्कृति संरक्षणलगायतका उत्पादनहरुलाई महिला उद्यमीहरुले प्रदर्शनीमा राखेका छन् ।
प्रदर्शनीमा प्रविधिबारे जानकारी दिने, उद्योगी र उपभोक्ताहरूको सोझो सम्पर्कको स्थापना गर्ने, उत्पादित वस्तुहरूको बजार प्रवद्र्धन र गुणात्मक प्रतिस्पर्धाको विकास गर्ने, उद्योगीहरूका बीचमा समस्या, अवसर र चुनौतीबारे अन्तरक्रिया गर्ने, सूचना र प्रविधिको विकास, विस्तार र आदानप्रदान गर्ने, पर्यटन क्षेत्रको विकास, सान्दर्भिक गोष्ठी, अन्तरक्रिया र कार्यशालाको आयोजना गर्ने गरिएको संघका अध्यक्ष कृष्ण पराजुलीले बताए ।

प्रदर्शनीमा कृषि, पर्यटन प्रवद्र्धनका विषयमा नियमित अन्तरक्रिया, गोष्ठीहरु आयोजना गरिएको रसंयोजक डिल्लीनारायण पाण्डेयले बताए ।
प्रदर्शनीमा ३ सय बढी वृद्दवृद्दालाई सम्मान गरिएको आयोजकहरुले जानकारी गराएका छन् ।