आइतबारदेखि लुम्बिनीमा न्युज फेस्टिभल सुरु

बुटवल,पुस १३ गते । लुम्बिनीमा तीन दिवसीय तेस्रो लुम्बिनी न्युज फेस्टिभल सुरु भएको छ । लुम्बिनी प्रेस क्लब भैरहवाको आयोजनामा न्युज फेस्टिभलको आयोजना गरिएको हो ।

लुम्बिनी क्षेत्रको पर्यटन प्रवद्र्धन तथा सीमापार भारततिरका समाचारका मुद्दामा बहस गर्ने न्युज फेस्टिभलको उद्देश्य रहेको लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले बताए । न्युज फेस्टिभलमा भारतबाट ४० जनासहित दुई सय बढी पत्रकारको सहभागिता रहेको जानकारी गराईएको छ।
उक्त लुम्बिनी न्युज फेस्टिभल लुम्बिनी प्रदेशका मूख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गरेका हुन् । मूख्यमन्त्री चेतनारायण आचार्यले पर्यटन प्रवद्र्ध, औद्योगिक विकास र सांस्कृतिक, धार्मिक सम्बन्ध बढाउन यस्ता मेलामहोत्सवहरुको भूमिका महत्वपूर्ण हुने बताए । मुख्यमन्त्री आचार्यले नेपाल छिमेकी देश भारतमा मिडियाले दुवै देशको राष्ट्रिय अखण्डता, सार्वभौमिकता र सह–अस्तित्व स्वीकार गर्दै अघि बढ्नुपर्नेमा जोड दिंदै मुख्यमनत्री आचार्यले भने भारतीय पर्यटक भित्राएर हामिले आर्थिक सम्वृद्दि ल्याउन सकिन्छ । यस विषयमा मिडियाकर्मीहरुको भूमिका महत्वपूर्ण हुन्छ ।

न्युज फेस्टिभलको अवसरमा सीमापारीका सम्बन्ध आवश्यकता र सम्भावना लुम्बिनी लगानी र पर्यटन र जिम्मेवार पत्रकारिताका विषयहरुमा छलफल गरिने आयोजकहरुले बताएका छन् ।

आध्यात्मिक पर्यटन केन्द्रको रुपमा विकास गर्न सरोकारवालाले सरकारको ध्यानाकर्षण गराएका छन् । लुम्बिनीमा आयोजित ‘तेस्रो लुम्बिनी न्युज फेस्टिबल’ अन्तर्गत ‘लुम्बिनी ः लगानी र पर्यटनको सामथ्र्य’ बारे भएको छलफलमा लुम्बिनीको गुरुयोजनामै यो ठाउंलाई पवित्र उद्यान (बगैंचा) का रुपमा परिभाषित गरिएपनि त्यस अनुसार हुन नसक्नु विडम्वना भएको उनीहरुले बताए ।
गुरुयोजनामा उल्लेख पवित्र उद्यानको मूल मर्म लुम्बिनीलाई अन्य पर्यटन नभई आध्यात्मिक पर्यटन केन्द्र बनाउनु पर्ने पर्यटन व्यवसायी लिलामणि शर्माले बताए ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक नगर प्रमुख कल्पना हरिजनले सरकार र लुम्बिनी विकास कोषको ध्यान र लगानी कोषको चार पर्खाल बाहिर हुन नसकेको गुनासो गरिन् । पुरातात्विक स्थल उत्खनन्मा मात्र राज्यको लगानी भएको औंल्याउंदै उनले संघीय र प्रदेश सरकारले लुम्बिनीको पर्यटन विकासलाई प्राथमिकता दिनुपर्ने आग्रह गरिन् ।

लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईले विश्व सम्पदा स्थल लुम्बिनी बौद्ध शिक्षा, शान्ति र सहअस्तित्वको केन्द्रको रुपमा विकास हुनुपर्ने स्थल भएको बताए । लुम्बिनी विकास कोषले संयुक्त राष्ट्र संघको निर्देशन र नेपाल सरकारको योजना र वजेट भन्दा बाहिर गएर जथाभावी लगानी र काम गर्न पाउंदैन भन्ने तथ्य बिर्सन नहुने राईले आग्रह गरे ।

छलफलमा पत्रकार रुपेश श्रेष्ठले लुम्बिनीको पर्यटन विकासका लागि पर्यटकमैत्री नीति, प्रडक्ट र व्यवहार हुनुपर्नेमा जोड दिए । पर्यटनमा लगानी सरकारले नभई व्यवसायीले गर्ने र पर्यटन विकासको वातावरण र नीतिगत सहजता सरकारले बनाइदिनु पर्ने श्रेष्ठको भनाइ छ। यो सेसनको सहजिकरण क्लबका निवर्तमान अध्यक्ष नरेश केसीले गरेका थिए ।

न्यूज फेस्टिभलमा‘सीमापार सम्बन्ध ः आवश्यकता र सम्भावना’,‘पत्रकारितामा प्रश्न ः जिम्मेवारी र जवाफदेहिता’ विषयमा पनि छलफल भएको छ ।

फेस्टिभल अन्तर्गत पहिलो सेसन ‘सीमापार सम्बन्ध ः आवश्यकता र सम्भावना’ मा भएको थियो । नेपाल पत्रकार महासंघ अध्यक्ष निर्मला शर्माले ग्लोबलाइजेसनको अवस्थामा सीमापार सम्बन्ध अति आवश्यक भएको बताइन् । उनले नेपाल र भारतको पत्रकारिताबीच सकारात्मक सम्बन्ध विकास गर्न र एक अर्का देशको विषयमा तथ्यहीन र सतही आरोप र लाञ्छना लगाउने काम बन्द गर्नु पर्ने यसले दुबै देशका पत्रकार असुरक्षित हुने बताइन।

 

गुणराज लुइटेल ः छिमेकी फेर्न नसकिने बताउंदै पत्रकारिताले समस्या मात्र देखाउने हैन, समाधान दिनुपर्छ भन्दै उनले भने भारतसंग संस्कार संस्कृति र भाषामा समानता र सहतजा भएकाले दुई देशबीच सीमापार सम्बन्ध आवश्यक छ ।

भारतीय पत्रकार सञ्जय सिंहले साथी बदल्न सकिन्छ, छिमेकी बदल्न सकिन्न भन्दै नेपाल दुई ठूला शक्ति राष्ट्रको बीचमा भएपनि भारतसंग सांस्कृतिक सम्बन्ध रहेको र यसलाई थप मजवुत बनाउनु पर्नेमा जोड दिए ।
सिक्किम प्रेस क्लबका अध्यक्ष भिम रावतले लोकतन्त्रको सबैभन्दा ठूलो आधार स्तम्भ पत्रकारिता भएको बताउंदै दुई देशको समृद्धिका लागि सहकार्य आवश्यक रहेको बताए ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका क्याम्पस प्रमुखदयानिधी गौतमले वेद र बुद्ध नेपाल र भारत दुबै देशका साझा सम्पदा भएकाले दुई देशबीचको सम्बन्ध अरु देश संगको भन्दा बेग्लै महत्वको रहेको बताए । मिथ्या सूचना प्रवाह रोक्न बुद्धका उपदेश र बौद्ध दर्शनले सहयोग गर्ने उनले सुझाव दिए ।

यस्तै ‘पत्रकारितामा प्रश्न ः जिम्मेवारी र जवाफदेहिता’ विषयमा अर्को छलफल भएको छ ।
छलफलमा बोल्दै नेपाल प्रेस काउन्सीलका अध्यक्ष डा. कुमार शर्मा आचार्यले मिडियाले सूचनाको दोहोरो–तेहोरो प्रमाणिकरण (भेरिफाई ) र समाचारको तहगत सम्पादन गर्नु अपरिहार्य हुने बताए । सूचनाको भेरिफाई र विना सम्पादन प्रवाह गरिने समाचारले समाजलाई दिग्भ्रमित पार्ने र अप्रिय घटना समेत निम्त्याउनेतर्फ सधैं सजग बन्नुपर्ने बताए ।

‘मिडियाहरु बढी अधिकारमुखी मात्र भएर पुग्दैन,जिम्मेवारमुखी पनि उत्तिकै हुनुपर्छ, आचारसंहिता पालना गरेकै हुनुपर्छ’–आचार्यले भने–‘पत्रकारले आफ्नो मर्यादा राखे मात्र पत्रकारिता मर्यादित हुन्छ ।’ आचार्यले मिडियाले कर्तब्यको पालना गरे अधिकार आफै प्राप्त हुने बताए ।
अखण्ड भण्डारीले मिडियाले सधैं सत्य बोल्ने, सत्य लेख्ने र सत्य व्यवहार गर्नुपर्नेमा जोड दिएका छन् । भण्डारीले मिडिया र पत्रकारले क्षमायाचना (सरी भन्न) र धन्यवाद भन्न कन्जुस्याई गरिरहेको औंल्याए । मिडियामा प्रविधिको प्रयोगलाई सकारात्मकरुपमा लिनुपर्ने भण्डारीले सुझाव दिए ।

उद्योग बाणिज्य महासंघ लुम्बिनीका अध्यक्ष कृष्णप्रसाद शर्माले मिडिया सरकार र निजी क्षेत्र दुबैका लागि ऐना भएको बताए । तर सत्य सूचना दिन नसक्दा मिडियाको विश्वसनियता घटेको भन्दै उनले सत्य सूचना छनोट गरेर मात्र प्रवाह गर्न आग्रह गरे ।
मिनाक्षी न्यौपानेले मिडियामा काम गर्ने सबै पत्रकार नहुने विषयमा सबै स्पष्ट हुनुपर्ने बताइन् । समाचारको काम गर्ने मात्रै पत्रकार हुने र पत्रकारमा विशेष ज्ञान र दक्षता हुनुपर्ने उनको भनाई थियो ।

छलफलमा नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा, महासंघका निवर्तमान अध्यक्ष विपुल पोखरेल,लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाई लगायतले मिडियाको जिम्मेवारी र जवाफदेहीताबारे बोल्दै राज्यलाई निरन्तर प्रश्न सोध्ने र बेथिति विरुद्ध खबरदारी गर्ने दायित्व मिडियाको हो भने ।