राजमोका समानुपातिक उम्मेदवारको संख्या १ सय १० जना

बुटवल, पुस १४ गते । राष्ट्रिय जनमोर्चाले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । महासचिव मनोज भट्टको नेतृत्वमा कान्तिपथस्थित आयोगको कार्यालय पुगेको प्रतिनिधिमूलक टोलीले बन्दसूची दर्ता गराएको हो ।

महासचिव भट्टका अनुसार ५० प्रतिशत महिलासहित एक सय १० जनाको बन्दसूची आयोगमा बुझाइएको छ । नियमावलीअनुसार नै खसआर्य ३३ जना (३०.२८ प्रतिशत), आदिवासी जनजाति ३२ (२८.७२ प्रतिशत), मधेसी १८ (१६.१५ प्रतिशत), दलित १५ (१३.४४ प्रतिशत), थारू ७ (६.५ प्रतिशत) र मुस्लिम ५ (४.८० प्रतिशत) गरी एक सय १० जनाको बन्दसूची बुझाइएको उहाँले जानकारी दिए ।

बन्दसूची बुझाउन राजमो केन्द्रीय सचिव घनश्याम न्यौपाने, केन्द्रीय सदस्य सुधा पौडेलसँगै हरिकान्त शर्मा, गोविन्दकुमार शर्मा, धनवीर पुन र मदन शर्मासमेत आयोग पुगेका थिए ।

समानुपातिक बन्दसूची बुझाउनेमध्ये राजमो तेस्रो क्रममा रहेको आयोगले जानकारी दिएको छ । आयोगले पुस १७ गते सो नामावलीमाथि जाँचबुझ गर्ने बताएको छ ।

राष्ट्रिय जनमोर्चाले बन्द सूचीको पहिलो नम्बरमा पार्टी अध्यक्ष चित्रबहादुर केसीलाई सिफारिस गरेको छ । यो बन्द सूचीमा कार्यकारी अध्यक्ष रश्मीराज नेपालीको नाम पनि छ ।