लगानीमैत्री वातावरण बनाउन सबै जिम्मेवार बनौ – मुख्यमन्त्री

 

दर्शन घिमिरे
नेपालगञ्ज, पुस १९ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लगानीमैत्री वातावरण सृजना गर्ने जिम्मेवारी राज्य, निजी क्षेत्र र समाज सबैको साझा भएको बताएका छन् । नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघको २५ औं वार्षिक साधारण सभाको शनिबार नेपालगञ्जमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले लगानीको वातावरण कमजोर बनाउने तत्वको गहिरो पहिचान गर्न जरुरी रहेको धारणा राखे ।

मुख्यमन्त्री आचार्यले लगानीको वातावरण बिगार्ने कारणतर्फ आवश्यक ध्यान नपुगेको उल्लेख गर्दै अब त्यसमा गम्भीर समीक्षा आवश्यक रहेको बताउंदै व्यवसायीलाई समस्या सिर्जना गर्नु राज्यको काम नभई समस्या समाधानका लागि अभिभावकको भूमिकामा उभिनु जिम्मेवार निकायको दायित्व भएको बताए ।
उद्योग दर्ता गर्न उद्योगीले पाँचदेखि सात वटा मन्त्रालय धाउनुपर्ने अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै उद्योग दर्ता, सञ्चालन र नियमनका लागि एकद्वार प्रणाली आवश्यक छ भने ।

समाज कस्तो दिशातर्फ अघि बढ्दैछ भन्ने विषयमासमेत समुचित मूल्यांकन आवश्यक रहेको बताउंदै व्यवसायीहरू थप लगानी गर्न हिच्किचाइरहेको र पलायनको अवस्था देखिन थालेको भन्दै मुख्यमन्त्री आचार्यले चिन्ता व्यक्त गरे ।

उनले राज्यका सबै निकायमा रहेका व्यक्तिहरू जिम्मेवार र संवेदनशील हुनुपर्ने उहाँले जोड दिए ।। विभिन्न नाममा भइरहने आन्दोलनको प्रत्यक्ष असर उद्योगी व्यवसायीमा परिरहेको उल्लेख गर्दै यस किसिमको अराजकताले लगानीको वातावरण विथोलिरहेको बताए ।

मुख्यमन्त्री आचार्यले भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएका आगजनी घटनाले उद्योगी व्यवसायीको मनोबल कमजोर बनाएको बताए ।

प्रदेशभित्र उत्पादन भएका काठ बिक्री नभई सडेर गएको अवस्था रहेको जानकारी दिँदै मुख्यमन्त्री आचार्यले बाहिरबाट आउने काठमा प्रतिबन्ध लगाउने प्रयास भए पनि कानुनी जटिलताका कारण समस्या समाधान हुन नसकेको बताए ।

नेपालमा सञ्चालित उद्योगले उत्पादन गरेका सामग्रीको प्रयोगलाई प्राथमिकतामा राखिएको र स्वदेशी उत्पादन प्रवद्र्धन गर्ने नीति सरकारको रहेको उहाँले स्पष्ट पार्नुभयो । यस किसिमको नीतिलाई संघीय सरकारले समेत प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ ।

मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले मझौला उद्योग सञ्चालनको अनुमति र नियमनको जिम्मेवारी लिएको जानकारी दिए । औद्योगिक क्षेत्र प्रदेश सरकारको प्रत्यक्ष मातहतमा नपरे पनि त्यहाँ देखिएका समस्या समाधानका लागि सरकार तत्पर रहेको उनले बताए ।

नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघका अध्यक्ष एजाज आलमको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको साधारण सभामा देशभरका उद्योगी तथा व्यवसायी प्रतिनिधिहरूको सहभागिता रहेको छ ।

वि.स. २०१६ सालमा बालाजुमा पहिलो औद्योगिक क्षेत्र स्थापना भएपछि क्रमशः देशका विभिन्न स्थानमा औद्योगिक क्षेत्रहरू विकास हुँदै आएका छन् । हाल नेपालभर १० वटा औद्योगिक क्षेत्र सञ्चालनमा रहेका छन् । ती औद्योगिक क्षेत्रहरूमा विभिन्न प्रकृतिका करिब ७०० उद्योग सञ्चालनमा रहेका छन् । सबै औद्योगिक क्षेत्रहरूमा उद्योग संघ समिति क्रियाशील छन् भने ती सबैको प्रतिनिधिमूलक संस्थाका रूपमा केन्द्रिय स्तरमा नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघ सक्रिय रहेको छ ।