देउवा कांग्रेसको अदालत जाने

बुटवल, माघ ३ गते । शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस आधिकारिकताका लागि सर्वोच्च अदालत जाने तयारी गरेको छ । उसले अदालन जानेसमेत निर्णय गरिसहेको छ । शनिबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले अदालत जाने निर्णय गरेको हो ।

बैठकले माघ २ गतेको निर्वाचन आयोगको निर्णयलाई पार्टीले नेपालको संविधान, प्रचलित कानुन र पार्टीको विधान विपरीत रहेको ठहर गरेको नेता डा. प्रकाशशरण महतले बताए । बैठकका निर्णयबारे जानकारी गराउंदै नेता महतले आयोगको निर्णयलाई ‘दूराशयपूर्ण’ र ‘दूषित मनसाय’ बाट प्रेरित रहेको टिप्पणी गरेका छन् ।

‘देशको सबैभन्दा ठुलो लोकतान्त्रिक पार्टीको विधिवत् निर्वाचित केन्द्रीय कार्यसमितिलाई अवैधानिक ढङ्गले परिवर्तन गरी गम्भीर क्षति पु¥याउने मनसाय स्पष्ट देखिन्छ’ उनले भने– ‘यो निर्णय मुलुकमा लोकतान्त्रिक व्यवस्थालाई दुर्घटनामा पार्ने षड्यन्त्रको एक अंश हो ।’

बैठकले आयोगको निर्णय विरुद्ध संवैधानिक तथा कानुनी उपचार खोज्ने निर्णय गरेको उनले बताए । नेता महतले भोली आइतबार अर्थात माघ ४ गते नै यसको खिलाफमा सर्वोच्च अदालत जाने निर्णय गरी तयारी भएकोसमेत जानकारी गराए ।

महतले निर्वाचन आयोगले अर्को पक्षले गरेको विशेष महाधिवेशनको वैधानिकता र उपस्थित सङ्ख्यासमेत जाँच नगरी एकतर्फी निर्णय गरेको आरोप निर्वाचन आयोगमाथि लगाए । पत्रकारहरुसंग कुरा गर्दै उनले शेरबहादुर देउवा नेतृत्वको समिति नै आधिकारिक रहेको र सानेपा छोड्ने प्रश्नै नउठ्ने बताए ।

देउवा पक्षले आयोगको निर्णयविरुद्ध कानुनी लडाइँसँगै राजनीतिक रूपमा पनि सशक्त प्रतिवाद गर्ने चेतावनी दिएको छ ।