चुनावी मैदानमा माधव नेपालको ‘क्लिन चिट’

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि रौतहट क्षेत्र नं. १ बाट उम्मेदवारी दिएका पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सह(संयोजक माधवकुमार नेपाल विरुद्धको उजुरी दरपीठ (दर्ता नगरी खारेज) भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले पर्याप्त कानुनी आधार र प्रमाणको अभाव देखाउँदै सो उजुरीलाई तामेलीमा राख्ने निर्णय गरेको हो।

यसअघि सोही निर्वाचन क्षेत्रका अर्का उम्मेदवार रामनरेश राय यादवले नेपाल विरुद्ध दाबी(विरोध पेस गरेका थिए। उजुरीमा विशेषगरी पतञ्जली योगपीठको जग्गा खरिद(बिक्री प्रकरणमा भ्रष्टाचारको मुद्दा विशेष अदालतमा विचाराधीन रहेको र उनी निलम्बनमा रहनुपर्ने अवस्थाका व्यक्ति भएको दाबी गरिएको थियो। यादवले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ र भ्रष्टाचार निवारण ऐनका विभिन्न दफाहरु उद्धृत गर्दै नेपाललाई उम्मेदवार बन्न अयोग्य ठहर गर्न माग गरेका थिए।

यद्यपि, मुख्य निर्वाचन अधिकृतको कार्यालयले गरेको प्रारम्भिक जाँचबुझमा उजुरीकर्ताले लगाएका आरोपहरूलाई पुष्टि गर्ने ठोस र आधिकारिक प्रमाणहरू निवेदनसँगै संलग्न नरहेको पाइएको छ। कार्यालयका अनुसार हालको कानुनी स्थिति र प्राप्त कागजातका आधारमा उम्मेदवारी बदर गरिहाल्नुपर्ने कुनै बलियो आधार नदेखिएकाले उक्त निवेदनलाई दरपीठ गरिएको हो। निर्वाचन अधिकृतको यो निर्णयसँगै माधवकुमार नेपालको उम्मेदवारी कानुनी रुपमा यथावत कायम भएको छ र उनलाई चुनावी प्रतिस्पर्धामा उत्रिन बाटो खुला भएको छ।