एक करोड ४२ लाख थान मतपत्र छापिए, अझै तीस प्रतिशत छापिदै


काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइको कार्य अन्तिम चरणमा पुगेको छ। जनक शिक्षा सामग्री केन्द्रले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार, कुल लक्ष्यको झन्डै ७० प्रतिशत मतपत्र छपाइ सम्पन्न भइसकेको छ। केन्द्रले हालसम्म कुल एक करोड ४२ लाख आठ हजार थान मतपत्र छपाइ गरिसकेको छ।

निर्वाचनका लागि कुल दुई करोड आठ लाख तीन हजार थान मतपत्र छाप्नुपर्ने जिम्मेवारी केन्द्रले पाएको छ। पछिल्लो समय छपाइ कार्यलाई तीव्रता दिइएको छ, जसअनुसार २४ घण्टाको छोटो अवधिमै ११ लाख १६ हजार थान मतपत्र छापिएका छन्।
यसका साथै, छापिएका मतपत्रहरूलाई सुरक्षित रूपमा सम्बन्धित जिल्लाहरूमा पठाउनका लागि प्याकिङ कार्य पनि युद्धस्तरमा भइरहेको छ। हालसम्म ११ हजार ४७८ बाकस मतपत्र प्याकिङ भइसकेको छ भने पछिल्लो २४ घण्टामा मात्रै एक हजार २२६ बाकस प्याकिङ गरिएको छ।

यसैबीच, निर्वाचन आयोगले मतदाता शिक्षाका लागि माग गरेबमोजिम एक करोड ९८ हजार २०० थान नमुना मतपत्र छपाइ गरी केन्द्रले आयोगलाई हस्तान्तरण गरिसकेको छ। बाँकी रहेका करिब ६६ लाख थान मतपत्रहरु पनि आगामी केही दिनभित्रै छपाई सकिने गरी जनशक्ति र मेसिन परिचालन गरिएको केन्द्रले जनाएको छ। फागुनको पहिलो साताभित्रै सबै मतपत्रहरु जिल्ला(जिल्लाका निर्वाचन अधिकृतको कार्यालयमा पुर्याउने लक्ष्य राखिएको छ।





















