निर्वाचन आयोगको डन्डाः कांग्रेस र एमालेसहितका दलका उम्मेदवारको नाम काटियो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुले पेस गरेको समानुपातिकतर्फको बन्दसूचीबाट ७६ जनाको नाम हटाइएको छ। निर्वाचन आयोगले दलहरुले बुझाएको सूचीमाथि विस्तृत छानबिन गरेपछि ७६ जना उम्मेदवारहरु अयोग्य देखिएको भन्दै उनीहरुको नाम हटाउने निर्णय गरेको हो।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मंगलबार एक विज्ञप्ति जारी गर्दै उम्मेदवारको योग्यता र अयोग्यतासम्बन्धी प्रचलित कानुन, प्राप्त उजुरी र दलहरुबाटै आएको जानकारीका आधारमा विवरणहरु रुजु गर्दा यस्तो देखिएको बताए।

नाम हटाइएका उम्मेदवारहरुमध्ये सबैभन्दा धेरै २१ जना कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका व्यक्तिहरु छन्। त्यस्तै, २५ जना उम्मेदवारको नाम प्रदेशसभाको समानुपातिक सूचीमा पनि रहेकाले उनीहरुको नाम प्रतिनिधिसभाको सूचीबाट हटाइएको छ। निर्वाचन आयोगले तोकेको जरिवाना समयमै भुक्तान नगर्ने १० जना, २५ वर्ष उमेर पूरा नभएका ४ जना र मतदाता नामावलीमा नाम नभएका वा गलत क्षेत्रमा नाम भएका ३ जना पनि अयोग्य ठहरिएका छन्। राजनीतिक दलहरुले आफ्नै आग्रहमा १० जनाको नाम हटाउन निवेदन दिएका थिए भने महिला हुनुपर्ने ठाउँमा पुरुषको नाम सिफारिस गरिएका कारण एक जनाको नाम काटिएको छ।

दलगत रुपमा हेर्दा नेपाली कांग्रेसबाट १, नेकपा (एमाले) बाट १ र नेपाली कम्युनिष्ट पार्टीबाट ३ जना उम्मेदवारको नाम हटेको छ। प्रवक्ता भट्टराईका अनुसार कतिपय उम्मेदवारको हकमा त एकभन्दा बढी अयोग्यताका कारणहरु समेत भेटिएका थिए। आयोगको यो निर्णयसँगै अब समानुपातिकतर्फको बन्दसूचीमा रहेका बाँकी उम्मेदवारहरुको विवरणलाई अन्तिम रुप दिने प्रक्रिया अघि बढेको छ। निर्वाचन आचारसंहिता र कानुनी मापदण्ड पूरा नगर्नेहरुलाई कडा रुपमा हटाएर आयोगले निर्वाचनको निष्पक्षता कायम राख्न खोजेको देखिएको छ।