खुल्यो कानुनी बाटोः राष्ट्रिय सभाबाट निर्वाचनसम्बन्धी तीन अध्यादेश स्वीकृत

काठमाडौँ । राष्ट्रिय सभाको सोमबारको बैठकले आगामी २१ फागुनमा हुने निर्वाचनलाई लक्षित गरी अन्तरिम सरकारले जारी गरेका तीन वटा महत्वपूर्ण अध्यादेशहरु स्वीकृत गरेको छ। सभामा गृहमन्त्री ओमप्रकाश अर्यालले ती अध्यादेशहरु स्वीकृत गरियोस् भनी प्रस्ताव पेस गरेका थिए, जसलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो।

स्वीकृत भएका अध्यादेशहरुमा मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८२, प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ र नेपाल विशेष सेवा ऐन (दोस्रो संशोधन) अध्यादेश, २०८२ रहेका छन्।

यी अध्यादेशहरुको स्वीकृतिसँगै आगामी निर्वाचनका लागि आवश्यक कानुनी प्रक्रिया थप सहज बनेको छ। गृहमन्त्री अर्यालले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र व्यवस्थित बनाउन सरकारले यी कानुनी व्यवस्थाहरु ल्याउनुपरेको स्पष्ट पारेका थिए।

विशेषगरी मतदाता नामावली र प्रतिनिधि सभा निर्वाचनसम्बन्धी ऐनमा गरिएको संशोधनले चुनावी तयारीलाई प्राविधिक र कानुनी रुपमा पूर्णता दिने विश्वास गरिएको छ। नेपाल विशेष सेवा ऐनको संशोधनले भने निर्वाचनका क्रममा हुन सक्ने सुरक्षा चुनौतीहरुलाई सम्बोधन गर्न मद्दत पुर्‍याउने देखिएको छ।