फेसबुकको भित्ताबाट बाहिर निस्किएर टुँडिखेलमा नीतिगत बहस गरौँः जबरा


काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री तथा ललितपुर निर्वाचन क्षेत्र नं १ का उम्मेद्वार उदय शमशेर जबराले आगामी निर्वाचनमा कांग्रेसले गगन थापालाई प्रधानमन्त्रीका रुपमा अघि सारेको घोषणा गर्दै तिमीहरुलाई उनकै नाममा भोट माग्न आग्रह गरेका छन्।

ललितपुरमा आयोजित पार्टीका अगुवा कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्दै उनले यो चुनाव जितेन्द्र श्रेष्ठ वा उदय शमशेरको मात्र नभई गगन थापालाई प्रधानमन्त्री बनाउने र देशमा परिवर्तन ल्याउने चुनाव भएको बताए। कांग्रेसले गगन थापालाई प्रधानमन्त्री घोषणा गरेर अघि बढेको उल्लेख गर्दै उनले अबका सरकार गगनका सरकार भनेर तिमीहरु जनतामाझ भोट माग्नुपर्ने बताए।
सहमहामन्त्री जबराले प्रधानमन्त्रीका उम्मेद्वारहरूबीच राष्ट्रिय बहस हुनुपर्नेमा जोड दिए। उनले फेसबुक र ट्विटरको भित्तामा मात्र सीमित नभई सार्वजनिक स्थल टुँडिखेलमा आएर पार्टीको नीति, अर्थतन्त्र, परराष्ट्र, कृषि, पर्यटन र जलस्रोतका विषयमा बहस गर्न अन्य नेताहरुलाई चुनौती दिए। जबराले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै उनीहरु नयाँ नभई पुरानै अनुहार भएको दाबी गरे।

रास्वपा दुई पटक सरकारमा गइसकेको र त्यसका सभापति दुई पटक गृहमन्त्री बनिसकेको उल्लेख गर्दै उनले ‘उनीहरू कसरी नयाँ भए ?’ भन्ने प्रश्न उठाए।
उनले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका कानूनी मुद्दाहरुको उल्लेख गर्दै विवादित नेतृत्वले परिवर्तन ल्याउन नसक्ने ठोकुवा गरे।
जबराले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय बहसका लागि तयार छु भनेको स्मरण गराउँदै अहिलेका युवा उम्मेदवारहरुले यसलाई किन स्वीकार नगरेको भन्दै प्रश्न गरे। फेसबुकबाट मात्र देश नचल्ने भन्दै उनले जनताको नजिक आएर आफ्ना नीति राख्नुपर्ने बताए।
‘जेन(जी’ आन्दोलनपछि नेपाली कांग्रेसले आफूलाई बदलेको दाबी गर्दै उनले पार्टीभित्रको आन्तरिक लोकतन्त्र र नेतृत्व परिवर्तनको चर्चा गरे। कांग्रेस अब सबैभन्दा पुरानो मात्र नभई सबैभन्दा नयाँ र नवीन पार्टी बनेको उनले बताए।





















