अध्यक्षमा यदुमणि पोख्रेल निर्वाचित

बुटवल जेसीजमा नयाँ नेतृत्व

बुटवल। बुटवल जेसीजको नयाँ नेतृत्वमा यदुमणि पोख्रेल निर्वाचित भएका छन् । जेसीजको ५२ औं अधिवेशनले बर्ष २०२६ का लागि ५३ औं अध्यक्षरुपको नयाँ नेतृत्व चयन गरेको छ । बुटवलमा एक कार्यक्रमको आयोजना गरी निवर्तमान अध्यक्ष मोहन न्यौपानेले नवनिर्वाचित अध्यक्ष पोख्रेललाई पदभार हस्तान्तरण गरेपछि नवनिर्वाचित अध्यक्ष पोख्रेलले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष पोख्रेलले आफ्नो कार्यकाललाई जेसीजमा लागेका पदाधिकारी तथा सदस्यहरुलाई अनुकरणीय एवं उदाहरणीय जेसीज वर्ष बनाउने उल्लेख गर्दै निवर्तमान नेतृत्वले थालेका तर अधूरा हुन पुगेका एजेण्डा भएमा थप नयाँ योजनाहरुसँगै अगाडि बढाएर सफल बनाउने प्रतिवद्धता ब्यक्त गरे ।

कार्यक्रममा बोल्ने वक्ताहरुले जेसीजले युवाहरुमा नेतृत्व तथा व्यक्तित्व विकास गराउने भएकाले राजनीतिको नेतृत्वसम्म पुग्न सकिने धारणा राखेका थिए । वक्ताहरुले विधिको शासनको अभ्यास गरिरहेका युवाहरु राजनीतिमा आउँदा राजनीति र शासन पद्धतीमा समेत विधिको शासनको अभ्यास हुन सक्ने बताउँदै देशको विकास र समाज रुपान्तरणका लागि जेसीजमा लागेका युवाहरुको खाँचो पर्ने औल्याएका थिए ।

बुटवल जेसीजमा यो वर्षका लागि अध्यक्षमा पोख्रेलसहित कार्यकारी उपाध्यक्षमा मनोजलाल श्रेष्ठ र विकास पन्थी, उपाध्यक्षमा सम्राट कुँवर, सरोज पोख्रेल, सहसचिवमा हरिप्रसाद घिमिरे, सहकोषाध्यक्षमा प्रशान्त भट्टराई निर्वाचित भएका छन् । यस्तै अध्यक्षले मनोनित गर्ने वैधानिक व्यवस्था अनुसार महासचिवमा कमल प्रसाद शर्मा, कानूनी सल्लाहकारमा माधव पराजुली, कोषाध्यक्षमा रमेश न्यौपाने र सीई टु प्रेसिडेन्टमा विनोद पोख्रेललाई मनोनित गरेका छन् ।