जीतको रेकर्ड जोगाउन विष्णु पौडेल चुनावी मिसनमा, हार नबेहोर्ने दाउमा प्रखर तीन अनुहार
रुपन्देही-२


बुटवल । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही क्षेत्र न-२ को चुनावी सरगर्मी यतिबेला तातिदै गएको छ । २०६४ सालदेखि लगातार निर्वाचन जित्दै आएका नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलको लालकिल्ला मानिने रुपन्देही-२ मा यसपटक नयाँ अनुहारसँग प्रतिस्पर्धा गरेर जीतको रेकर्ड जोगाउन चुनावी मिसनमा लागेका छन् । पौडेलको पकेट किल्ला मानिने भएकाले रुपन्देही-२ लाई विशेषरुपमा हेरिएको छ ।

एमाले नेता पौडेल यसपटक सामाजिक पहिचान बनाएका,युवा र पेसागत रुपमा स्थापित उम्मेदवारहरुसँग चुनावी मैदानमा भिड्ने भएका छन् । क्षेत्र न-२ यहाँ कांँग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबिच चौपक्षीय भिडन्त हुने देखिएको छ ।
निरन्तर जीत हासिल गर्दै आएको किल्लालाई छोडेर सुरुवातमा पाल्पा क्षेत्र न-२ जाने तयारीमा रहेका पूर्वअर्थमन्त्री पौडेल अन्ततः रुपन्देहीमै फर्किएर उम्मेदवारी दर्ता गरेसँगै यसक्षेत्रको चुनावी प्रतिष्पर्धालाई चासोको रुपमा लिइएको छ । पौडेल २०५६ सालमा तत्कालीन रुपन्देही क्षेत्र न-३ बाट उम्मेदवार बनेका पौडेल त्यसबेला नेपाली कांँग्रेसका सूर्यप्रसाद प्रधानसँग पराजित भएका थिए । २०६४ सालयता भएका सबै निर्वाचनमा सानदार मतसहित निरन्तर विजय हासिल गर्दै उनी २०७९ सालको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलसँग झिनो मतले चुनाव जितेका थिए ।

जतिबेला एमालेभित्र नै पौडेलको जितप्रति संशय बढाएको थियो । त्यतिबेला विष्णु पौडेलले २७ हजार १ सय ४७ मत पाउँदा गणेश पौडेलले २५ हजार ७ सय ८१ मत ल्याएका थिए । अहिले छैठौं पटक उम्मेदवार बनेका पौडेलले आफ्नो अनुभव र विकासको निरन्तरतामाथि मतदातासँग जोड दिदै आएका छन् । विशेषगरी बुटवलको र रुपन्देहीको विकासका लागि ठुलो योगदान पुर्याएका पौडेलमाथि वालुवाटार जग्गा प्रकरणसँगै लुम्बिनी प्रदेशको अस्थायी मुकामलाई स्थायीरुपमा बुटवलमा स्थापित गर्नुको साटो अर्थमन्त्री पदसँग प्रदेशको संरचना साटेको आरोप लाग्नुको साथै बुटवलबासीमा चरम गुनासो छ ।
हाल एमालेका हेविक्यूट नेता मानिने पौडेलसँग नेपाली कांँग्रेसबाट बुटवलका चर्चित उद्योगी चुन्नु प्रसाद पौडेल, नेपाली कम्युनिष्ट पार्टी युवा नेता विश्वदीप पाण्डेय, राष्ट्रिय स्वतन्त्र पार्टीबाट अधिवक्ता सुलभ खरेल र पछिल्ला वर्षमा अभियन्ताका रुपमा चिनिएका चिकित्साशास्त्र अध्ययन गरेका डा.निकोलस भनिने ९कमल भुसाल० चुनावी मैदानमा उत्रिएका छन् ।
कांँग्रेस वृत्तमा चुन्नु पौडेललाई बजार र व्यावसायिक समुदायको मत तान्न सक्ने उम्मेदवारको रुपमा हेरिएको छ । एमाले र कांँग्रेसलाई चुनौती दिन राष्ट्रिय स्वतन्त्र पार्टीले कानून क्षेत्रमा दख्खल भएका अधिवक्ता सुलभ खरेललाई उम्मेदवार बनाएको छन् । नेपाली कम्युनिष्ट पार्टीले जनयुद्धकालदेखि पार्टीमा सक्रिय हाल पार्टीको केन्द्रीय सदस्य तथा प्रचार र सामाजिक सञ्जाल विभागको जिम्मेवारीमा रहेका युवा नेता विश्वदीप पाण्डेयलाई उम्मेदवार बनाएको छ ।
विश्वदीप २०६४ सालको निर्वाचनमा विष्णु पौडेलसँग थोरै मतले पराजित भएका सैनामैना निवासी माओवादी नेता स्वर्गीय भक्ति पाण्डेयका छोरा हुन् । आफ्ना पितासँग चुनाव लडेका पौडेलसँग पाण्डेयले यसपटक चुनावी मैदानमा टक्कर दिने अठोटका साथ घरदैलोमा लागेका छन् । अर्का प्रतिस्पर्धी हुन् डा। कलम भुसाल ९निकोलस० । नेपाल जनसेवा पार्टीबाट उम्मेदवार बनेका उनी विगतमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर स्वास्थ्यको माध्याबाट मानवीय सेवामा खटिने युवाको रुपमा परिचित छन् ।
रुपन्देही–२ मा कुल एक लाख ३५ हजार ५० मतदाता छन् । बुटवल उपमहानगरपालिका–१ देखि १३, तिलोत्तमा नगरपालिकाका–१ देखि ६ तथा सैनामैना नगरपालिका–१ देखि ४ नम्वर वडा पर्दछन् । अनुभवी नेता विष्णु पौडेल, उद्योगी चुन्नु पौडेल, माओवादीका युवा विश्वदीप पाण्डेय, युवा अधिवक्ता सुलभ खरेल र सामाजिक अभियन्ता डा।निकोलसबिच हुने प्रतिस्पर्धाले यहाँको चुनावलाई लुम्बिनी प्रदेश र संघीयस्तरको नजरबाट हेरिएको छ ।























