राष्ट्रियसभा उम्मेदवार प्यूठानका खत्री र पण्डितद्दारा खर्च विवरण सार्वजनिक

प्यूठान, माघ २८ गते । राष्ट्रिय जनमोर्चाको तर्फबाट राष्ट्रियसभाका उम्मेदवारहरू बोमबहादुर खत्री र पद्मा पण्डितको खर्च विवरण सार्वजनिक गरेका छन् । बुधबार खत्री र पण्डितले बेग्लाबेग्लै खर्च विवरण सार्वजनिक गरेका छन् ।

उम्मेदवार खत्रीले प्रस्तुत गरेको खर्च विवरण अनुसार सवारीसाधन प्रयोगबापत ३० हजार, इन्धनबापत सात हजार, कार्यालय सञ्चालनबापत १० हजार, प्रतिनिधि परिचालनबापत् १० हजार र विविध दुई हजार गरी कुल ५९ हजार खर्च भएको देखिन्छ ।

त्यस्तै, पण्डितले सवारीसाधन बापत २५ हजार, इन्धनबापत पाँच हजार, कार्यालय सञ्चालनबापत १० हजार ५ सय, प्रतिनिधि परिचालनबापत ५ हजार र विविध खर्च बापत १ हजार पाँच सय गरी कुल ४७ हजार खर्च सार्वजनिक गरेकी छन् ।

निर्वाचन कानुन अनुसार उम्मेदवार बनेका सबैले निश्चित अवधिभित्र खर्च विवरण सार्वजनिक गर्नुपर्ने हुन्छ । गत माघ ११ गते सम्पन्न राष्ट्रियसभा निर्वाचनमा खत्री र पण्डित लुम्बिनी प्रदेशबाट राजमोतर्फबाट उम्मेदवार बनेका थिए ।