एमालेको ६१ जिल्लामा अधिवेशनहरु शुरु

एमालेको जीवनमा ठूलो संकट – विष्णु पौडेल

बुटवल, पुस २३ गते । शुक्रबारदेखि एमालेको शुक्रबार ६१ जिल्लामा अधिवेशन सुरु भएको छ । अध्यक्ष केपी ओलीले भर्चुअलको माध्यामबाट जिल्ला अधिवेशनहरु एकसाथ उद्घाटन गरेका हुन्। रुपन्देहीमा पनि नेकपा एमालेको अधिवेशन शुरु भएको छ ।नेकपा एमाले रुपन्देहीको ९ औं जिल्ला अधिवेशन शुक्रबारदेखि भैरहवामा सुरु भएको हो। अधिवेशन उद्घाटन समारोहमा बोल्दै एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमालेलाई एकल्याउने र कमजोर पार्ने षडयन्त्र सफल हुन नदिने दावी गरेका छन् ।
पार्टीलाई विभाजित गरेर कम्युनिष्ट आन्दोलनलाई विभाजित गर्ने प्रयास असफल भएको उनको तर्क छ ।पूर्व उपप्रधान तथा अर्थमन्त्रीसमेत रहेका एमाले नेता पौडेलले धेरै जनताले पत्याएको तथा धेरै नेता कार्यकर्ता आबद्ध भएको पार्टी एमाले भएकाले एमाले अन्य पार्टी भन्दा ठूलो भएर मात्र हुँदैन, एक्लै स्पष्ट बहुमत ल्याउनुपर्छ भने। रुपन्देही क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता पौडेलले एमाले र एमालेको जीवनमा यतिबेला धेरै ठूलो संकट आएको स्वीकार गरे।
एमालेका सचिव, तथा लुम्बिनी प्रदेशका इञ्चार्ज तथा पूर्वमन्त्री छविलाल विश्वकर्माले एमाले पुनः जिम्मेवारीमा आउने बताए। उनले आम जनताले पार्टीप्रति गरेको विश्वासलाई अझ प्रगाढ बनाउनुपर्नेमा जोड दिए। पार्टीका स्थायी समिति सदस्य तथा पूर्वमन्त्री घनश्याम भुसालले आजको कम्युनिष्ट पार्टीको ठूलो चुनौती भनेकै दलाल पूंजीवादबाट बच्नु पर्ने बताए। दलाल पूंजीबादबाट बच्न सके क्रान्ति सफल हुने नेता भुसालको भनाइ छ। .एमाले रुपन्देहीका अध्यक्ष शिवराज सुवेदीको अध्यक्षता, उपाध्यक्ष पुरुषोत्तम घिमिरेको स्वागत र सचिव जगेश्वरीदेवी चौधरीको सञ्चालनमा कार्यक्रम भएको थियो। लुम्बिनी प्रदेशका १० जिल्लामा नेकपा एमालेको अधिवेशन शुक्रबारदेदि नै शुरु भएको छ।
रुकुम पूर्व र रोल्पाको जिल्ला धिवेशन हाललाई स्थगीत गरिएको छ। देशका अन्य १४ जिल्लासहित देशका १६ जिल्लामा भने हाललाई अधिवेशन स्थगित गरिएको एमालेले जनाएको छ। नेकपा एमालले पार्टी प्रवेश गर्ने दर्जन बढी नयां सदस्यलाई पार्टीमा स्वागतसमेत गरेको छ, अधिवेशनको अवसरमा ।